जाजरकोट : भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटले १६५ किलोमिटर सडक निर्माण गरेको छ । जिल्लाका रणनीतिक सडकलाइ निर्माण कार्य जारी राखेको पूर्वाधार कार्यालयले यो आर्थिक वर्षमा समेत निरन्तरता दिने छ ।
कच्ची कडान गरी हलुका साधनहरु सञ्चालन समेत भइरहेको पूर्वाधार कार्यालयका प्रमुख प्रविण कार्कीले जानकारी दिए । उनका अनुसार कचालि – गुराँसे – धरमपोखरा सडक निर्माण कार्य जारी रहेको छ ।
पश्चिम जाजरकोटको महत्वपूर्ण सडकका रुपमा रहेको छिन्चु – जाजरकोट सडक खण्डसँग जोडिएको मोर्क – स्यापि – सिस्ने – नेपा हुँदै कचाली जोड्ने सडकको काम समेत जारी रहेको छ । आन्तरिक सडक मध्य लिर्ता – कार्किगाँउ – मछाईना सडकको निर्माण चलिरहेको प्रमुख कार्कीले बताए ।
त्यस्तै आत्तरिक सडक मध्यकै साईलेख साँघु – रावतगाँउ – ध्यारगाँउ सडक समेत निर्माणको चरणमै रहेको उनले बताए । जिल्लाको सबै भन्दा रणनीतिक सडक मध्य रहेको र जुम्लासँग जोड्नका लागि निर्माण थालिएको पाँचकाटिया – फुल्चाउली – कयाल्दापाखा – बारेकोट – चाखुरे – जुम्ला सडकको निर्माण कार्य जारी रहेको छ । कच्ची कटान भएका सडकमा अहिले हलुका सवारी साधन समेत सञ्चालनमा रहेका छन् ।
त्यस्तै जुम्ला जोड्नका लागि अर्को सडक जाजरकोट – कुशे – चाल्ना – व्याउली – जुम्ला सडकको समेत काम चालु अवस्थामा रहेको छ । पर्यटकीय स्थल पाँचकाटिया हुँदै पिउली – नेटीलेक सडकको कच्ची कटान भइरहेको छ । प्रदेशले जिम्मा लिएका सडकहरुमा काम भारी मात्रामा भइरहेको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताए ।
‘जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलमा हुँदै सबै गाउँमा विना प्रभाव सडक लिने हाम्रो योजना हो’ प्रदेशसभा सदस्य सिंहले भने, ‘त्यो काम यो वर्ष समेत जारी रहन्छ । गाउँ तथा बस्तीहरुमा सडक नलिइ अन्यत्रबाट बाटो मोड्दा गाउँका कृषकहरुले दुख पाउने छन् ।’ हामीले उत्पादन गरेका सामग्रीहरुलाइ बजारसम्म लिन पनि गाउँमा सडक पुर्याउनु पर्ने बाध्यता रहेको उनले बताए ।
कुशे गाउँपालिकाको दम्दालामा उत्पादन गरेका कृषिजन्य बस्तु , नलगाडको मह , बारेकोटको गाभा लगाएका बस्तुहरु निर्यात गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगाएत प्रदेशबाट सञ्चालनमा भएका बिभिन्न कार्यक्रमबाट आर्यआर्जनका भारी कार्यक्रम भएकाले बजारीकरण मुख्य विषय बन्दै गएको कृषि विकास कार्यालयका प्रमुख गणेसबहादुर अधिकारीले बताए ।
त्यस्तै स्थानीय तहले समेत सडक निर्माणलाइ महत्व दिँदै आएका छन् । हामीले सबै पालिकामा सडक कति निर्माण भयो भनि सोधेको प्रश्नमा नलगाड नगरपालिका बाहेक अन्य स्थानीय तहले विवरण दिन सकेका छैनन् । नलगाड नगरपालिकाले आर्थिक वर्ष २०७७ ÷७८ मा सडक सफा तथा मर्मत ६७ किलोमिटर र सडकको नयाँ ट्याक औपन २६ किलोमिटर रहेको सव इन्जिनियर जनक खड्काले बताए ।