विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुईजना बिरामी निको भई घर फर्केका छन् । घर फर्केनेमा भोजपुर जिल्ला हतुवागढीका–६ का २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् ।
यसअघि केन्द्रबाट गत सङ्क्रमितहरु वैशाख २४ गते ६ र वैशाख २६ गते आठजना निको भई घर फर्किसकेका छन् । घर फर्कने राई गत वैशाख १३ र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो दुईपटक गरिएको थ्रोट स्वाब पिसिआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले बताए ।
राईले गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएको बताए । झापा बाह्रदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको जानकारी दिए । दुवै जनाले अस्पताको निर्देशनअनुसार आफ्नो गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा १४ दिन बस्ने बताएका थिए ।
राईले भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्ने बताए । उनले तत्काल परिवारको सम्पर्कमा नजाने बताउँदै आफ्नो कारणले अरूलाई सङ्क्रमण नफैलियोस् भन्नका लागि तोकिएको समयसम्म क्वारेन्टाइनमा बस्ने जानकारी दिए ।
यसैगरी आलमले सरकारले लागू गरेको बन्दाबन्दी र सामाजिक दूरी कायम गरेमा यो महामारीबाट बच्ने एकमात्र उपाय भएकाले सबैलाई पालना गर्न आग्रह गरे। उनले बाह्रदशी पालिकाअन्तर्गत घरमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्ने बताए। आलमले उपचारका क्रममा केन्द्रमा स्वास्थ्यकर्मी सहयोगी हुनाका साथै मागअनुसार सामग्री व्यवस्थापन समितिले उपलब्ध गराएकामा सबैलाई धन्यवाद दिए ।
अस्पतालबाट ‘डिस्चार्ज’ भएका दुवै जनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापन समिति संयोजक ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गरेका थिए ।
सचिव पन्थले दुवैलाई तोकिएको समयसम्म नियमको पालना गरी क्वारेन्टाइनमा बस्न सुझाव दिए । केन्द्रबाट सङ्क्रमित निको भई दुई जना गरी जम्मा घर फर्कनेको सङ्ख्या १६ पुगेको छ । केन्द्रमा शनिबार तीन र आइतबार एक गरी जम्मा १९ जना सङ्क्रमितको उपचार भइरहेको सुपरिटेन्डेन्ट डा मिश्राले बताए ।
नेपालमा भने अहिलेसम्म ३३ जना संक्रमित उपचारपछि घर फर्किएका छन । तीमध्ये तीन जनामा फेरि संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।