काठमाडौ । २०७२ सालको भूकम्पताका भारतले नेपालमाथि नाकाबन्दी लगाईदियो । प्राकृतिक प्रकोपले थिचिएका नेपालीको घाउमा भारतले नुनचुक मात्रै छरेन, पेट्रोल, डिजेल, मट्टितेल, तरकारी रोकेर न्युनतम मानवीयताको मूल्य पनि राखेन । सबै विकल्प बन्द गरेर नेपालीमाथि चरम अन्याय गर्यो ।
नेपालीको मुटुमा बसेको स्वाभिमानमाथि आँच आएका बेला केपी शर्मा ओलीले राष्ट्रवादको माला उनेका थिए । भारतका कट्टर विरोधी मानिने १० बर्ष जनयुद्ध लडेका प्रचण्डले समेत भारतविरुद्ध एक शब्द नबोलेका बेला ओलीले भने जताततै भारतको विरोध गरे । त्यही विरोधले नेपालीको मन जित्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार नाकाबन्दी फिर्ता लिन बाध्य भयो ।
मोदीलाई समेत हावा खुवाएका ओलीले त्यही राष्ट्रवादको जगमा नेपालको राजनीतिक नेतृत्व कब्जामा लिए । संसदमा भएको चुनावमा संविधान जारी गर्न सफल स्वर्गीय शुशिल कोइरालालाई हराएर पहिलोपटक प्रधानमन्त्री भएका ओली नयाँ राजनेता भएर उदाए ।
उनको त्यो उदय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतका प्रधानमन्त्री मोदीसँग तुलाना गरियो । जुन राष्ट्रवाद चुनावी नारासँग जोडिएको सत्ता स्वार्थ थियो । आज ट्रम्पकै कारण अमेरिका कोरोना भाइरससँगको लडाई जित्न त परको कुरा, लड्न समेत असक्षम छ ।
भारतमा मोदीको असफलता प्रक्षेपण भइसकेको छैन । तर उनको राष्ट्रवादभन्दा माथि देशको विकास हुन सकेको छैन । भलै ओली र ट्रम्पभन्दा मोदी धेरै भिजिनरी नेता मानिन्छन ।
नेपालमा ओलीको उदय भएयता उनकै हातमा सत्ता छ । राष्ट्रवादकै जगमा टेकेर उनले २०७४ को चुनाव जिते । पाँच बर्षका लागि प्रधानमन्त्री बने । तर ओली प्रधानमन्त्री बनेको दुई बर्षमा नेपाली नागरिकले यही हो सुशासन र विकास भनेर महसुस गरेका छैनन् । यद्यपी क्रमागत विकासको लहर भने चलिरहेकै छ । जुन स्वभाविक हो ।
राष्ट्रवादको जगमा प्रधानमन्त्री बनेका ओली भने अहिले भारतसामु लम्पसार भएको आरोप लागिरहेको छ । यो आरोप धेरै हदसम्म सत्य पनि साबित भइरहेको छ । ओली प्रधानमन्त्री भएयताका घटनाक्रमलाई केलाउने हो भने मोदीसाम उनले आत्मसमर्पण मात्रै गरेका छैनन्, ओलीको राष्ट्रवादले घुडा टेकिसकेको अवस्था छ ।
हरायो ओलीको राष्ट्रवाद ?
ओली कुनै शक्ति, संघर्ष, लडाई र चमत्कार गरेर नेपालको सत्तामा पुगेका होइनन । सिर्फ जनताको राष्ट्रियताको भावनालाई क्यास गरेर सत्ताको चाबी हातमा लिन सफल भएका हुन । नाकाबन्दीमा भोकै रहेका नेपालीलाई राहत दिनुको साटो विश्वयुद्धको स्वाभिमान छबि कायमै राख्न भाषण गरेकै भरमा ओली नेपालको सत्तामा उक्लिएका हुन ।
भारतीय नाकाबन्दीमा ओलीको गर्जनमा ३ करोड नेपालीको साथ थियो । सारा नेपालीको गर्जन ओलीले मोदीलाई सुनाए । ओली प्रधानमन्त्री थिए । प्रधानमन्त्रीकै हैसियतमा उनले मोदीलाई जवाफ दिए । नाकाबन्दीको सामना गरिन्छ, तर भारतसामु झुकिन्न भनेका ओलीले त्यो बाचा पूरा गरिछाडे ।
ओलीको त्यही बचन सारा नेपालीले मुठ्ठीमा राखे । २०७४ सालको सालमा माओवादी केन्द्रसँग एकता गरेर नेकपा निर्माण गरेका ओलीलाई झण्डै दुईतिहाई बहुमत दिएर पठाईदिए । जुन ओलीको सफलता मानिन्छ । तर राष्ट्रवादको घुम्टो ओढेर राज्यसत्ता सम्हालेका ओली भने अहिले फेरिएका छन ।
प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा उनको विरोध भएको थियो । नेपालीले नाकाबन्दी बिर्सेका छैनौ भन्न खोजिरहेका थिए । तर ओलीले मोदीविरुद्ध प्रदर्शन त परको कुरा, ब्यानर समेत राख्न दिएनन् । यो ओलीका लागि झट्का थियो ।
मोदीको छाप नेपालसँगै दक्षिण एसियामा नराम्रो बन्दै गएको थियो । उनले चुनाव जित्ने हतियार नेपाललाई बनाए । यसका लागि जनकपुर र काठमाडौँमा अबिरजात्रा मनाउन ओलीलाई अह्राए । हिजोका दिनमा नेपालीमाथि नाकाबन्दी गर्ने मोदीलाई केही नेकपाका कार्यकर्ताले अबिर दलेर नेपालीको आत्मसम्मानमा ठेस पुर्याउनुपर्यो । जुन ओलीको कदम थियो ।
हिजो कुनै बेला मोदीलाई हराएका ओली अहिले लम्पसार जस्तै छन । भारतले एकपछि अर्को सीमामा हस्तक्षेप गर्दा ओली चुपचाप बस्न बाध्य छन । परराष्ट्र मन्त्रालयले विज्ञप्ती समेत सार्वजनिक गर्दा हस्ताक्षर गर्न बिर्सिदिन्छ । जुन ओलीको राष्ट्रवादको खिल्ली हो ।
हालै भारतले दुई ठूला हस्तक्षेप गर्दा ओली मौन बसेका छन । पहिलो भारतले नेपालको भूभाग समेटेर राजनीतिक नक्सा जारी गर्दा नेपालले एउटा विज्ञप्ती निकाल्न बाहेक अर्थोक केही गर्न सकेन । यसको कारक ओली थिए । माइतीघर र नयाँ बानेश्वरमा ठूलो प्रदर्शन भयो । तर ओलीले एक शब्द मोदीविरुद्ध बोलेनन् ।
अहिले भारतले लिपुलेक मिचेर चीन जोड्ने नयाँ सडक बनायो । कोरोना महामारीका बेला विरोध हुन नसक्ने भन्दै बन्द कोठाबाट उद्घाटन गरायो । नेपालको भुभाग मिचेर सडक बनाउँदा ओलीले मोदीविरुद्ध चुइक्क बोलेका छैनन् ।
भारतले १९ किलोमीटर भूमि मिचेको विवरण परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदीय समितिमा जानकारी गराएका छन । तर ओलीले सिधै मोदीसँग वार्ता गर्ने हिम्मत गर्न सकेका छैनन् । शनिबार अर्का अध्यक्ष प्रचण्डसँग मिलेर एउटा वक्तव्य निकाल्नुबाहेक ओलीले अर्को काम गर्न सकेनन् ।
ओलीले भारतसामु घुडा टेकिसके !
नेपालको सीमा मिचियो, ओली चुप । भारतले नेपाली सीमामा सडक बनायो, ओली चुप । चीनसँग मिलेर भारतले नेपालको सीमामा लगातार सडक खनेर नयाँ बाटो उद्घाटन गरिसक्यो, ओली चुप । भारतमा रहेका नेपालीको बिचल्ली भइरहेको छ, ओली चुप ।
सीमासम्म आएका नेपालीले घर आउन अनुनय बिनय गरिरहेका छन, तर पनि ओली चुप । यी सबै हेर्दा लाग्छ, ओलीको राष्ट्रवादले भारतसामु घुडा टेकिसक्यो । राष्ट्रवादको आडमा चुनाव जित्ने र सत्ता हडप्ने योजना पूरा भएपछि ओलीको राष्ट्रवादले घुडा टेकेको प्रष्टै देखिन्छ ।
होइन भने, भारतीय हस्तक्षेपविरुद्ध सडकमा नारा लगाउने युवालाई ओली सरकार किन पक्राउ गरेर हिराशतमा लिन्छ ? हिजो तिनै युवाको राष्ट्रवादले भोट बटुलेका ओली आज किन निर्दोष युवालाई समोतर हिराशतमा राख्दै छन ? के ओलीको असली राष्ट्रवाद यही हो ।
भारतले बर्षौदेखि सिमाना मिच्दै आएको थियो । हस्तक्षेप गरिरहेकै थियो । त्यसविरुद्ध बोल्ने राजनेताका रुपमा ओली कुनै बेला उदाएका थिए । तर अहिले आफ्नो सत्ता स्वार्थ पूरा भएपछि ओलीले भारतसामु घुडा टेकिसके । जतिसुकै कराएपनि ओलीले मोदीसँग सीमाका विषयमा कुरा गर्ने छैनन् ।
मिचिएको सिमाना फिर्ता गर्ने छैनन् । किनकी ओलीले भारतसामु घुडा टेकिसके । अब ओलीबाट यसभन्दा धेरै आश गर्नु बेकार हुन्छ ।