न्यूयोर्क : भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार देश ‘क्वाड’ लाई अत्यन्तै प्रतिस्पर्धात्मक समयमा पनि ‘आफ्नो काम कसरी गराउँने’ भन्ने विषय राम्ररी जानकारी भएको बताएका छन्।
कार्यक्रममा बाइडेनसँगै साझेदार देशका नेताहरू अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योसिहियो सुगाले चीनको बढ्दो प्रभावका विषयमा आ(आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा अमेरिकी राष्ट्रपति बाइडेनले चीनमाथि जबर्जस्त आर्थिक व्यवहार र सैन्य गतिविधि बढाएको आरोप लगाएका थिए।
क्वाड देशका नेताबीच भएको यो पहिलो औपचारिक भेटवार्ता थियो। यस क्रममा प्रत्यक्ष रूपमा चीनको नाम नलिए पनि इन्डो प्यासिफिकका विषय नै चार नेताको भेटवार्ताको प्रमुख विषय थियो।
त्यस क्रममा जापानका प्रधानमन्त्री सुगाले दक्षिण चीन सागरमा बढ्दै गएको चिनियाँ गतिविधिको उद्देश्यप्रति प्रश्न उठाएका थिए। दक्षिण चीन सागरमा पछिल्ला वर्ष चीनले आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको छ। लामो समयदेखि जापानको नियन्त्रणमा रहेको टापुलाई बेइजिङले आफ्नो दाबी गरेसँगै दक्षिण चीन सागरमा जापानको चासो बढेको हो। त्यस क्रममा जापानका प्रधानमन्त्री सुगाले ताइवानप्रति चिनियाँ व्यवहारप्रति समेत चासो व्यक्त गरेको जापानका विदेशी सञ्चार माध्यम हेर्ने तोमोयोकी योसुदाले बताएका छन्।
ताइवानले प्यासिफिक व्यापारमा रहेका १६ सदस्यीय समूहमा बस्न निवेदन दिएसँगै बिहीबार चीनका २४ युद्धक विमानले ताइवानको गस्ती गरेका थिए। ‘प्रधानमन्त्रीले ताइवानमा शान्ति तथा स्थिरताको पक्षमा आफ्नो आवाज उठाएका छन्’ योसुदाले जानकारी दिएका छन्।
भेटवार्तासँगै चार देशका नेताहरूले एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ‘पूर्वी र दक्षिण चीन सागर सहित समुन्द्री नियममा आधारित व्यवस्थामा आउने चुनौतीको सामना गर्ने’, उल्लेख गरिएको छ। रासस