काठमाडौँ : सुर्खेत बड्डीचौरमा रहेको जनज्योती माविका प्रअ तथा शिक्षक नारायण सिग्देललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बोलाएको छ । प्रतिस्थापन बजेटमा उल्लेख भएको पढ्दै कमाउँदै कार्यक्रमको कार्यविधि बनाउनका लागि कृषि मन्त्रालयले प्रअ सिग्देललाई सिंहदरबार बोलाएको हो ।
यसका लागि मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाले बराहाताल गाउँपालिकालाई पत्र लेखेको छ । पत्रमा प्रअ सिग्देललाई कार्यविधि निर्माणका लागि सहजीकरण गर्न दुई हप्ताका लागि काठमार्डौँ पठाईदिन उल्लेख छ ।
सम्भवतः सरकारले कुनै पनि शिक्षकलाई यसरी बजेट तथा कार्यक्रमको कार्यविधि बनाउन पहिलोपटक बोलाएको हो । यसअघि शिक्षा मन्त्रालयले शिक्षासम्बन्धि ऐन, कार्यविधि बनाउन पनि कर्मचारीलाई मात्रै जिम्मेवारी दिने गरेको थियो । कर्मचारीले भने सरोकारवालासँग अन्तरक्रिया गर्ने भएपनि शिक्षकलाई एकसाथ राखेर कार्यविधि बनाएको तथ्य छैन ।
तर बड्डीचौर सुर्खेतको जनज्योती माविमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेर शिक्षामा कायापलट गर्न सक्ने उदाहरण दिएका प्रअ सिग्देलको योजनालाई अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेटमा समावेश गरेका थिए । सोही अनुसार बजेट पनि छुट्याइएको छ । यो कार्यक्रम लागू गराउन आवश्यक कार्यविधि निर्माण गरेर तत्कालै प्रअ सिग्देललाई रुकुम, सुर्खेत लगायत अरु जिल्लाका विद्यालयमा पठाएर कार्यक्रमको सुरुवात गर्ने तयारी छ ।
यसका लागि प्रअ सिग्देल सुर्खेतबाट काठमाडौँ पुगिसकेका छन् । उनी दुई हप्ता सिंहदरबारमा अर्थ र कृषि मन्त्रालयका कर्मचारीसँगै बसेर पढ्दै कमाउँदै कार्यक्रमको कार्यविधि बनाउन सहजीकरण गर्नेछन् । यो कार्यक्रम लागु गराउन त्यसपछि उनी विभिन्न २८ वटा विद्यालय पुग्नेछन् । कार्यविधि बनेर मन्त्रालयबाट पारित भएपछि मात्रै बजेट कार्यक्रम लागु हुने गरेको छ ।
यसरी बजेटमै शिक्षाको कायापलट गर्ने योजना पार्ने, त्यसलाई कार्यान्वयन गर्न कार्यविधिदेखि कार्यक्रमको अगुवाइ गर्ने सिग्देल नेपालकै पहिलो शिक्षक हुन् । सिग्देललाई नेपाली विद्यालय शिक्षामा आधुनिक र नमूना शिक्षकका रुपमा चिन्ने गरिन्छ ।
र, यो पनि पढौँ