काठमाडौँ : ४० किलोको माला लगाएर केही दिनअघि डोल्पामा मुख्यमन्त्री महेन्द्र शाहीले भने, कर्णाली स्वर्गको टुक्रा हो । उनको भनाइमा पूरा सत्य छ । त्यति मात्रै होइन, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले रारा पुगेर भनेका थिए, रारा तालको पानी बेचेर समृद्धि ल्याउन सकिन्छ ।
उनी त्यतिमै रोकिएका थिएनन् । रारा तालको पानीको दृश्य बेचेर लाखौं कमाउन सकिन्छ भनेका थिए । अहिले पनि रारा तालको पानीको दृश्य बेचिरहेकै छ । तर केही पर्यटन व्यवसायीले राम्रै व्यापार गरेपनि राराको अवस्था उस्तै छ । न बस्ने होटल राम्रा छन् । न त जाने बाटो नै सुध्रिएको छ । १० वर्षदेखि राराको अवस्था उस्तै छ ।
कर्णालीका मुख्यमन्त्री मात्रै होइन, नेपाल र विदेशका सबैजसो मान्छेले कर्णालीलाई स्वर्गको टुक्रा भन्छन् । कर्णाली पुगेका जो कोहीलाई यसको महत्व र महसुस पनि हुन्छ । सुर्खेतदेखि, दैलेख, कालिकोट, जुम्लादेखि मुगु र डोल्पासम्मको बाटो उस्तै छ ।
पर्यटकीय दृष्टिकोणले यो बाटोले स्तरन्नोति पाएको छैन । यो विकराल समस्याका रुपमा देखिएको छ । तर पनि सरकारको बेवास्ता कायमै छ ।
शुभकामना दिन समेत कन्जूस्याई
अरु दिवसका दिन प्रदेश प्रमुख, मुखयमन्त्रीदेखि मन्त्रीसम्म शुभकामना दिन भ्याई नभ्याई हुन्छ । त्यसमाथि अघिल्लो दिन नै सचिवालयले विज्ञप्ति निकालेर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती गर्छन । तर पर्यटन दिवसका दिन प्रदेश प्रमुखदेखि, मुख्यमन्त्री र पर्यटनमन्त्रीसम्मले शुभकामना दिन पनि कन्जुस्याई गरेका छन् ।
यो कर्णालीको पर्यटन विकासमा सरकारको बेवास्ता हो । जहाँ सबैभन्दा धेरै पर्यटन प्रचार प्रसारको कुरा गरिन्छ । हरेक नेता, कर्मचारी, सरोकारावालाको मुख्य भजाउने नारा बन्छ । तर पर्यटन उकास्ने, विकास गर्ने र यसको ठूलो परियोजना बनाएर सञ्चालन गर्ने विषयमा तै चुप मै चुप हुने परम्परा छ ।
यसले कर्णालीको पर्यटन मात्रै पछाडि परेको छैन । पर्यटन विकास गरेर कर्णालीको समृद्ध बनाउने सपना समेत तुषारापात भएको छ ।
स्वर्गको सम्भावित सहर
स्वर्ग कस्तो छ । त्यो कसैले देखेको छैन । जसले देखेको छ । ती मान्छे धर्तीमा फर्केर आएका छैनन । तर असाध्यै राम्रो ठाउँलाई स्वर्ग भन्ने प्रचलन कायम छ । यो प्रचलनलाई वास्तविकता तुल्याउन स्वर्ग भएर मात्रै हुँदैन । त्यहाँको विकास र आवश्यक संरचना विकास गर्नुपर्छ ।
कर्णाली आफैमा स्वर्ग हो । रारा ताल स्वर्गकी अप्सराका रुपमा परिचित छ । डोल्पाको फोक्सुन्डो तालको सर्वत्र चर्चा हुन्छ । कालिकोटको पचाल झरनाको चर्चा पनि उत्तिकै छ । रुकुमको स्यार्पू ताल र सल्यानको कुपिन्डे दहको सुन्दरता आफैमा मनमोहक छ ।
सुर्खेतमा देउती बज्यै, काँक्रबिहार, बुलबुले ताल, घण्टाघर आफैमा सुन्दर पर्यटकीय क्षेत्र हुन् । इतिहास, पुरातत्व र प्राकृतिक खानीका हिसाबले जुम्लाको सिँजा र दैलेखको ज्वाला तथा पञ्चदेवल ऐतिहासिक सम्भावना भएका ठाउँ हुन् ।
तर यी सबै सर्वेक्षण र सम्भावनामा सीमित छन् । जुम्लाका सांसद तथा पूर्वमन्त्री नरेश भण्डारीले केही दिनअघि सिँजा सभ्यताको गैरसरकारी विधेयक संसदमा दर्ता गराएका छन् । पालिका सरकारबाट समेत सिँजाको संरक्षण र प्रवद्र्धन गर्न बेवास्ता भएका बेला उनले सरकारलाई सिँजाको सभ्यता संरक्षण गर्न अग्रसरता लिन ध्यानाकर्षण गराएका छन् ।
यी केही जोशका भरमा चालिएका प्रयास भएपनि कर्णालीको स्वर्गलाई सहर बनाउने र पर्यटन ल्याएर समृद्धि ल्याउने विषयमा प्रदेश र केन्द्र सरकार सँधै बेवास्ता गरिरहेका छन् ।
विगतमा जस्तै यस वर्ष पनि एउटा शुभकामना समेत दिन नभ्याई पर्यटन दिवस कर्णालीका स्वर्गका टुक्राहरुमा घुमिरहेको छ । जुन सम्भावना हो । पैसा हो । समृद्धिको स्रोत हो । लाखौँ युवाहरुको रोजगारीको खानी हो । तर यसलाई चिन्नै नसकेको सरकारले सँधै ओझेल पारिरहेको छ ।