सिमकोट : गाउँपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालन गरेका गतिविधिहरु पारदर्शी रुपमा सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले गरेका गतिविधिहरु हालसम्म सार्वजनिक नगरेको भन्दै स्थानीय सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालयमा पुगेर जनप्रतिनिधि र कर्मचारीसँग् माग गरेका हुन् ।
स्थानीयको माग विशेष गरी चिनीयाँ सहयोगमा प्राप्त भएको खाद्यान्न तथा वस्तुगत सहयोग वितरणमा पारदर्शीता गर्न नसकेको स्थानीय पासाङ लामाले बताए । जनताका लागि आएका गतिविधिहरु जनतालाई सुचना गरेर वितरण तथा कार्यान्वय गर्न उनीहरुले माग गरेका थिए ।
गरेका कामहरु चित्त बुझ्ने गरी सार्वजनिक गर्नुपर्ने बताएका छनन् । ६ वटा वडा रहेको नाम्खा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने स्थानीयहरु कार्यालयमा पुगेका थिए । उनीहरुले गाउँपालिकाले गरेका कामको सार्वजनिक गर्न नसक्नु गाउँपालिकाले कमजोरी गरेको स्थानीयको आरोप छ । अर्का स्थानीय कुन्जोल लामाले बेलैमा गाउँपालिकाले जनतालाई सुसुचित गर्न नसकेको कारण स्थानीयले डेलिकेशन आउनु परेको बताए ।
यसअघि २०७५, २०७६ सालमा पनि सार्वजनिक सुनुवाइ गरेर आफ्ना काम कार्य सार्वजनिक गर्न आग्रह गर्दा पनि गाउँपालिकाले नमानेको उनले जानकारी दिए । जनगुनासोको सुनुवाइ नभएपछि अहिले मुख्य जनप्रतिनिधि र कर्मचारी सम्पर्क कार्यालयमै रहेको समय पारी कार्यालयमा पुग्नु परेको उनले बताए ।
गाउँपालिकाले स्थापनादेखि हालसम्म सार्वजनिक सुनुवाइ नगरेको स्थानीयको आरोप छ । उनीहरुले प्रधामन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम, गाउँपालिकाले खरिद गरेका यातायातका साधन, वडामा वितरण गरिएका थ्रेशर मेशिनका बारेमा पनि प्रश्न उठाएका छन् ।
स्थानीयको गुनासो आएपछि गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाले कोरोनाको कारण सार्वजनिक सुनुवाइ गर्न नसकिएको र अब चाँडै गर्ने जवाफ दिएका थिए । जनताबाट आएका गुनासो सम्बोधन गर्न खोजे पनि अध्यक्ष लामाको जवाफबाट स्थानीय सन्तुष्ट देखिन सकेनन ।
उनीहरुको माग आधिकारिक रुपमा अब गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्नु पर्ने रहेकोमा अध्यक्ष लामाले चाँडै चित्त बुझ्ने गरेर सुनुवाइ हुने बताए । जनप्रतिनिधि र स्थानीयबीच निक्कै बेर सवाल जवाफ भएको थियो ।