सिमकोट : सामुदायिक अस्पतालमा आफ्नै ल्याव सेवा स्थापना भएपछि जिल्ला अस्पताल भन्दा ४० प्रतिशत कम शुल्कमा उपचार हुन थालेको छ । विरामीलाई राहत पुर्याउनका लागि गाउँपालिकाले निर्णय गराएर शुल्क कम लिन थालेको हो ।
खार्पुनाथ गाउँपालिकाले ल्याव स्थापना गरेपछि विरामीका सबै प्रकारका उपचार गर्न सहज भएको छ । यसले चिकित्सकबाट चेकजाँच गरे पनि ल्याव परिक्षण गर्न जिल्ला अस्पताल वा बाहिर जानुपर्ने बाध्यता समेत हटेको छ ।
खार्पुनाथ –४ को छिप्रा गाउँका रत्नबहादुर शाहीले उपचारका साथै परिक्षणको रिपोर्ट पनि अब गाउँपालिकामै हुन सुरु भएपछि विरामीलाई राहत मिलेको बताए । सुगरको परिक्षण समेत गरेका उनले यसअघि चिकीत्सकसंग चेकजाँच मात्र गर्ने र अन्य परिक्षण गर्न जिल्ला अस्पताल वा बाहिर जानु नपर्ने अवस्था रहेको बताए । यसबाट विरामीलाई सुविधाका साथै आर्थिक भार पनि कम हुने गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाका ल्याव टेक्निसियन रमेशबहादुर शाहीले सेवा सञ्चालन भएसँगै हाललाई सुगर, मृगौला, मुटु, कलेजो, बाथरोग, एचआइभी, हेपाटाइटिस, बी, सी, बीर्य, गर्भजाँच, दिसा, पिसाव, शरिरमा रगतको मात्रा, सिवीसी, रक्त समुह, डेण्टल, अल्बोमिन, कोरोना लगायत ४० प्रकारका रोगको परिक्षण भइरहेको जानकारी दिए ।
उनले ल्यावका लागि आवश्यक उपकरण र सामग्रीको व्यवस्था नि राम्रो भएको कारण विरामीलाई सेवा छिटो र सहज रुपमा दिन सहज भएको बताए ल्याव सञ्चालन भएयता ५२ जनाको परिक्षण कार्य समेत पुरा भएको छ । भने गाउँपालिकाका नागरिकलाई अन्य भन्दा सस्तोमा शुल्क लग्ने गरिएको छ । त्योसँगै जिल्ला अस्पतालले ल्याव परिक्षण गर्दा लिने शुल्कभन्दा चालीस प्रतिशत कममा सेवा दिने गरिएको स्वाव शाखाले जनाएको छ ।
गाउँपालिका बाहेक अन्य सेवाग्राहीहरुको पनि उपचार हुने गरेको छ । ल्यावका लागि आवश्यक जनशक्तिमा एक जना स्टाप नर्स र ल्याव टेक्निसियनबाट सेवा सञ्चालन हुँदै आएको छ । त्योसँगै ल्यावका लागि आवश्यक एनलाइजर, माइक्रोस्कोप, हट एयर ओभन जस्ता महँगा उपकरणको व्यवस्था गरिएको छ । सामुदायिक अस्पताल समेत गाउँपालिकामै सञ्चालन हुँदै आएको कारण परिक्षणपछि विरामीलाई बाहिर पठाउनु नपरेको जनाइएको छ । ल्यावका लागि उपकरणहरु छाँया नेपालले सहयोग गरेको थियो ।