दैलेख : नारायण नगरपालिका दैलेखका कार्यवाहक मेयर वडा नम्बर ९ का वडाध्यक्ष ढालबहादुर थापाले शैक्षिक गुणस्तर सुधार र भौतिक व्यवस्थापनमा नगरपालिकाको प्रमुख चासो रहेको बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्धारा सोमबार दैलेखमा आयोजित स्थानीय शैक्षिक सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो विचार राखेका हुन् । यस्तै शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेजबहादुर थापाले कोरोना संक्रमणको समस्याले सबै भन्दा थला परेको क्षेत्र शिक्षा र आर्थिक गतिविधि रहेको उल्लेख गर्दै जिल्लाभर विद्यालयहरु खुलेका तर, जोखिम व्यवस्थापनमा सावधानी अपनाउनुपर्ने सुझाव दिए ।
नारायण नगरपालिकाका प्रमुम प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले शैक्षिक सुधार लगायत नागरिक समाजले दिने सुझाव र पृष्ठपोषण योजना तर्जुमा अघि दिने गरे नीति, कार्यक्रम र योजनामा समेट्न सघाउ पुग्ने बिश्वास व्यक्त गरे ।
संयुक्त राष्ट्र संघको सन् २०३० सम्म सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको विकासको गन्तव्य दिगो विकासका १७ लक्ष्यहरुमा समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा प्रवर्द्धन सवाल र स्थानीय प्रयास विषयमा खुला छलफलमा सरोकारवालाले खुला धारणा राखेका थिए ।
नागरिक समावका सुझाव राख्ने क्रममा सामाजिक सेवा केन्द्र (सोसेक)का आधार परियोजना भैरवी संयोजक निर्मला नेपालीले लकडाउन र निषेधाज्ञा अवधिमा विद्यालय बन्द हुँदा बालविवाह बढेको, मजदूरी गर्न बालबालिका मुग्लान पसेका बताइन् ।
खुला छलफलमा सहभागी हुँदै पत्रकार स्याम विसीले दिगो विकासका १७ लक्ष्यहरु समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा प्रवर्द्धन सवाल गरिबी निवारणको प्रमुख आधार हो । तर, सरकारको नीति कार्यक्रम र कार्यशैली आशातित लक्ष्य प्राप्ती हुनेमा शंका व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रम आयोजक शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला संयोजक दुर्गा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका जिल्ला सदस्य अमर सुनारले शैक्षिक गुणस्तर विकास र नीति निर्माणका लागि राज्य संयन्त्र र स्थानीय तहहरुसंको सहकार्यका क्रियाकलाप बारे जानकारी गराएका थिए ।