खलंगा : सोमबार राति १० बजेतिर परेको चट्याङले ४० भेडा परेका छन् । जुम्लाको गुठीचौर गाउँपालिकाको–४ डाबा लेख पाटनमा चट्याङ लागेर ४० भेडा मरेका हुन । चट्याङका कारण १५ भेडा घाइते भएका छ्न ।
इलाका प्रहरी कार्यालय गुठीचौर अनुसार , ४ जना गोठालाका २ सय भेडा थिए । चट्याङ लागेर नानो भण्डारीका १० भेडा मरेका छन् । भने, २ घाइते भएका छन् । यस्तै मुनबहादुर भण्डारीका ४ मरेका छन्, २ घाइते भएका छन् । यस्तै अर्का स्थानीय मुणि प्रसाद अधिकारीका १७ मरेका छन् । भने, ७ भेडा घाइते भएका छन् । देवी प्रसाद अधिकारीका ९ वटा भेडा मरेका छन् । भने, ४ घाइते भएको इलाका प्रहरी कार्यालय गुठीचौरका इन्चार्ज कमल श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘जम्मा चट्याङ लागेर ४० भेडा मरेका छन् । १५ वटा घाइते भएका छन् ।’ प्रहरी मुुचुल्का अनुसार साढे ६ लाख बराबरको क्षति भएको छ ।
चट्याङ लागेर भेडा मर्दा गोठालाहरु चिन्तितमा परेका छन् । मुणि प्रसाद अधिकारीकाले भने, ‘हाम्रो दैनिकी चलाउने आयस्रोत भनेकै भेडा थिए । त्यही पनि चट्याङमा परे । भेडा राखेको ठाउँमा राति परेको चट्याङले भेडा पालक किसानमाथि वज्रपात परेको गुठीचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरिले बताए । उनले भने, ‘विपद् कतिबेला आउँछ भन्ने कसैलाई थाहा हुँदैन, हामीले चाहेर रोक्न पनि सक्दैनौं । गुठीचौरका अधिकांश नागरिकको आम्दानीको स्रोत भेडापालन हो । भेडा पालकलाई राहतका लागि गाउँपालिकाले छलफल गरिरहेको छ । ’
चट्याङका कारण भेडा मरेपछि भेडा पालक किसानको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा परेका छन् । पशु सेवा कार्यालयका जुम्लाका प्रमुख गोविन्द महतले भने, ‘प्रहरीको मुचुल्का, मेरेका भेडाको फोटो, वडाको सिफारिस, सम्बन्धित व्यक्तिको नागरिकता लिएर किसानले जिल्ला सेवा कार्यालयमा दिनुपर्ने हुन्छ । जिल्ला प्रशासनले पशु सेवा कार्यालयलाई सिफारिस गरेको खण्डमा राहत दिने व्यवस्था रहेको छ । राहतका लागि कार्यविधि बनेको छ । त्यहीं कार्यविधिमा टेकेर भेडा किसानलाई राहत दिने व्यवस्था छ । ’