हुम्ला : सिमकोटसँग जोडिएको खार्पुनाथ नदी तर्नका वर्षौदेखि तुइनकै भर छ । जोखिममै तुइनको यात्रा स्थानीयको बाध्यता भएको छ । झोलुङ्गे पुल समयमा निर्माण नहुँदा वर्षौदेखि तुइन तर्नु बाध्यता रहेको हो ।
स्थानीय मात्रै होइनन, सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कर्णाली नदीमाथिको तुइनमाफर्त कार्यालयमा आवत जावत गर्ने गरेका छन् ।
कार्यालय रहेको गाउँपालिका केन्द्र याङ्चु बजारमा जान तुइन तर्नुपर्ने बाध्यतामा रहँदै छ । अधिकृत बिष्णुबहादुर शाहीले पुल नभएपछि बिहान दश बजे कार्यालय जान र बेलुका घर फर्कन तुइन तर्नु पर्ने बाध्यता रहेको बताए ।
खार्पुनाथ गाउँपालिका–४ स्थायी घर भएका उनी एक महिना अगाडी सरुवा भएर गाउँपालिकामा आएका हुन् । उनले एक घण्टा टाढाको माँझ गाउँमा रहेको घरबाट पैदल हिंडेर कर्णाली नदी माथिको तुइन चढेर कार्यालय जानु बाध्यता रहेको जानकारी दिए । उनलाई वर्खाको बढेको कर्णाली नदीको पानीको बहाबमा तुइन चढ्न डर लागेपनि अन्य विकल्प पनि नभएको बताए ।
‘कार्यालयमा बस्ने बासको व्यवस्था भइनसकेको कारण घरबाटै तुइनमार्फत आवत जावत गर्नुपर्ने वाध्यता हो’ उनले भने । उनी मात्र होइनन, छिप्रा गाउँ स्थायी घर भएका गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल पनि तुइनकै भरमा कार्यालय जाने गर्छन् । उनले निर्वाचनमा विजयी भएदेखि सोही तुइनबाट गाउँपालिका ओहोर दोहोर गर्दै आएका छन् ।
जहाँका अध्यक्ष अधिकृतहरु तुइन तर्नुपर्ने बाध्यता छ । अन्य स्थानीयहरु त वर्षौदेखि तुइनकै सहारा लिदै आएका छन् । झोलुङ्गे पुल निर्माणमा ढिलाइ भएको कारण तुइनमै जोखिम पुर्वक तर्नु परेको हो । निर्माणधीन पुल कहिले सम्पन्न हुने हो अझै एकिन छैन । एक वर्ष अगाडी तुइन निर्माणका लागि गाउँपालिकाले राम्रै बजेट खर्च गरेको थियो ।