काठमाडौं : आफ्नो घरसम्म पुग्नको लागि हेलिकोप्टरको प्रयोग गर्ने नेपालका एक मात्र मुख्यमन्त्री हुन् कर्णालीका महेन्द्रबहादुर शाही । उनी कहिले हेलिकोप्टरमा पत्नीलाई लिएर जन्मस्थानको भ्रमण गर्छन् । त, कहिले पार्टीका कार्यकर्ता भेट्न हेलिकोप्टरको प्रयोग गर्छन् ।
भदौ ३ गते महेन्द्र शाहीले हेलिकोप्टरमा पत्नीलाई लिएर कालीकोटको पचाल झरनामा पुगेर जन्मस्थान भ्रमण गरेका थिए । त्यसमा झण्डै साढे दुई लाखको खर्च भयो । यसअघि र यसबीच थुप्रै ठाउँहरुमा हेलिकोप्टरको प्रयोग गएर गए । जुम्ला, हुम्ला लगायतका जिल्लाहरुमा पार्टीको कार्यक्रम गर्न हेलिकोप्टर प्रयोग गरेका थिए । र, गरिरहेका हुन्छन् ।
शनिबार मात्रै ४० किलोको माला लगाउन डोल्पा हेलिकोप्टरमै पुगे । मुख्यमन्त्रीको साथमा पर्यटन मन्त्री नन्दसिंह बुढा, अर्थमन्त्री गोपाल शर्मा, पूर्व कानुन मन्त्री नरेश भण्डारी लगायतको टोली थियो । डोल्पामा ४० किलोको माला भने, तीनजनाले लगाए । मुख्यमन्त्री शाही, पर्यटन मन्त्री बुढा र गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले ।
मुख्यमन्त्री र मन्त्रीहरु माला लगाउनसँगै जगदुल्ला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न पुगेका थिए । भवन उद्घाटन गर्न हेलिकोप्टर, पार्टीका कार्यकर्ता भेटघाट गर्न हेलिकोप्टर, जन्मस्थानको भ्रमण गर्न हेलिकोप्टरको प्रयोग गरिरहेका छन् मुख्यमन्त्री महेन्द्र शाहीले ।
मुख्यमन्त्रीलाई हेलिकोप्टर चढ्ने खर्च कहाँबाट आउँछ ? कि महेन्द्र शाहीले घर-जग्गा धितो राखेर ऋण लिएर हेलिकोप्टर चढ्छन् ? विलकुल होइन्, जनताले पसिना बगाएर तिरेको करमाथि हेलिकोप्टर चढ्ने गरेका हुन् । कयौं पटक हेलिकोप्टर चढेर आवत जावत गर्छन् । उनका लागि हेलिकोप्टर चढ्नु भनेको ठेला चढ्नु जस्तै हो ।
तर, मुख्यमन्त्री महेन्द्र शाहीले यो कहिले पनि विचार गरेनन्, ‘मैले जनताको करमाथि रजाइँ गरेको हुँ, पसिनामाथि रजाइँ गरेको छु । मैले कार्यकर्ताको अगाडी मात्र होइन्, जनताको अगाडी मुख देखाउने काम गर्नुपर्छ ।’ मात्र विचार गरे, ‘हेलिकोप्टर चढेर कार्यकर्ता भेट्ने, कार्यक्रम गर्ने, जन्मस्थानको भ्रमण गर्ने, जनताको पसिनामाथि रजाइँ गर्ने’ । भनौं, मुख्यमन्त्रीलाई जनताको करमाथि हेलिकोप्टर चढ्ने मोह नै लागेको हो ।
उता कर्णालीको कथा व्यथा उस्तै छन् । हेलिकोप्टर नपाएर कयौं दुर्गमकी सुत्केरीको थलोमै मृत्यु हुने गरेको छ । कयौं विरामीको स्ट्रेचर नभएर चोयाले बुनेको डोको स्ट्रेचर बनाउन बाध्य भएका छन् ।
अस्पतालमा औषधि अभाव, चिकित्सक अभाव, अभावै अभावले भरिरहेको छ, कर्णाली । त्यसतिर कर्णाली सरकारले कहिले पनि ध्यान दिएन । अन्ततः दुर्गममा डोको हेलि बन्न पुगेको छ । कर्णाली सरकार र, त्यसका मुख्यमन्त्रीले हेलिकोप्टरको मोह भन्दा दुर्गमको व्यथालाई ध्यानमा राख्न जरुरी छ ।
यो पनि पढौं...