कोरोनाको संकटमा हामी संसदमा विनियोजन विधेयक २०७७/७८ को सिद्धान्त र प्राथमिकताका विषयमा छलफल गरिरहेका छौँ । विश्वव्यापी महामारी कोरोना भाइरसले हामी पनि प्रभावित भएका बेला छलफललाई निरन्तरता दिएका छौँ । कोरोनाले आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा असर पुर्याएका बेला हामी आगामी बजेटका सिद्धान्त र प्राथमिकताहरु तय गर्दैछौ । यो सकारात्मक कुरा हो ।
यस्तो महामारीका बेला पनि अर्थ मन्त्रालयले बजेटको सिद्धान्त र प्राथमिकताबारेको विधेयक पेश गरेको छ । जुन सकारात्मकसँगै अपरिहार्य पनि बनेको छ । बजेटका प्राथमिकता तय गर्दै गर्दा हामीले कोरोना भाइरसको सम्भावित क्षतिलाई पनि नजरअन्दाज गर्न जरुरी छ ।
आज ठूल्ठूला देशमा कोरोनाले ठूलो संकट निम्त्याइरहेको छ । हाम्रो देशमा पनि त्यो संकट नआउला भन्न सकिदैन । त्यसैले कोरोना महामारी नियन्त्रणतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गर्छु ।
महामारी बेला बजेटका प्राथमिकता तय गर्दा केही विशेष प्याकेज ल्याउन आवश्यक छ । विधेयकमा रोजगारी सिर्जना गर्ने, उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने, कृषिमा सामुहिकरण गर्ने, कर घटाउने, दायरा बढाउने कुरा बजेटमा समेट्नु राम्रो पक्ष हो । तर यतिले मात्रै पुग्दैन ।
हामी हिजोदेखि नै आर्थिक परिवर्तनका लागि सपना बोकेर अगाडी बढिरहेका छौँ । तर पहिले भूकम्पको विपद र अहिले कोरोनाको महामारीले असर गरिरहेको छ । यसले हाम्रो दीर्घकालिन विकासमा ठूलो बाधा सिर्जना गरेको छ ।
यसकारण अहिले गुणात्मक बजेटलाई अगाडी बढाउने भन्दा नागरिकका तत्कालिन आधारभुत आवश्यकतालाई सम्बोधन गर्न जरुरी छ । अन्यथा भोलि नागरिकमा सरकारले ल्याएको बजेटले निराशा उत्पन्न हुन सक्छ । कोरोना महामारीले विश्वमा दैनिक हजारौको ज्यान गइरहेको छ । नेपालमा पनि संक्रमितको संख्या बढेको बढ्यै छ ।
कोरोनाले भोकमरीको समस्या पनि बढ्दो छ । भोलि यसले अर्को संकट निम्तिन सक्छ । त्यसैले यो बजेटका प्राथमिकतामा मेरो सुझाव, अहिले मुख्य रुपमा नागरिकको स्वास्थ्यमा ध्यान दिऔ । बजेटका अनेकौ सिद्धान्त र प्राथमिकता छन । तर अहिले नागरिकको स्वास्थ्यलाई जोगाउने राज्यको प्रमुख दायित्व हो ।
त्यसैले अहिले पूर्वाधार विकासमा भारी बजेट छुट्याउनेभन्दा कोरोना महामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ, त्यतातर्फ लागौ । अन्यथा यसले ठूलो क्षति निम्त्याउन सक्छ । कोरोनाले गर्दा नेपालीहरु घरभित्रै बस्न बाध्य छन । हिड्न, बोल्न समस्या छ । काम गर्न मिलेकै छैन । जबकि साझा बिहान काम गरेर खाने मजदुरको बाहुल्यता भएको हाम्रो देशमा यो असर र क्षति कति धेरै होला ? त्यसैले यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ ? त्यतातिर लागौ ।
बजेट विकासको निरन्तरता भएपनि यसपटक हामीले साच्चिकै केही पक्षलाई सुक्ष्मरुपमा ध्यान दिन जरुरी छ । कोरोनाले मानिसलाई जति ठूलो असर पुर्याएको छ । त्यो भन्दा ठूलो असर किसानलाई गरेको छ । कोरोनाकै कहरमा नेपाली किसानले बजार नपाउँदा बाहिरबाट मात्रै दुई महिनामा अर्बौको तरकारी आयात भयो । खाद्यान्न पनि त्यत्तिकै आयात भइरहेको छ ।
यसका लागि मुख्य रुपमा उत्पादन र रोजगारी सिर्जनामा ध्यान दिन जरुरी छ । पहिले कृषि उत्पादन, त्यसबाट रोजगारी सिर्जना र बजार व्यवस्थापन गर्न अति आवश्यक भइसकेको छ । कृषि उत्पादन बढाएर रोजगारी सिर्जना गर्न सकेमा मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।
यदि अझै पनि उत्पादन बढाउन सकिएन, त्यसबाट रोजगारी सिर्जना गर्न सकिएन भने किसान मात्रै होइन, नेपाली जनता भोकै बस्नुपर्ने अवस्था आउन सक्छ । कोरोनाले विदेशबाट नेपालीहरु फर्किदै छन । कतिपय अलपत्र परेकाहरु फर्किनका लागि हार गुहार गरिरहेका छन । अहिलसम्म रेमिट्यान्सले धानिएको देश अब कसरी आर्थिक जोहो गर्ने ?
विदेशबाट फर्केका नेपालीहरुलाई कसरी नेपाली रोजगारीसँग जोड्ने ? त्यतातर्फ ध्यान दिन जरुरी छ । नेपाल फर्किएका नेपालीलाई कसरी देशमै रोजगारी दिन सकिन्छ, त्यसतर्फ बजेट केन्द्रित गर्नुपर्छ । तर तत्कालका लागि त हामीले कोरोना भाइरसको यो महामारीलाई कसरी व्यवस्थापन गर्ने, कसरी नियन्त्रण गर्ने ? त्यसतर्फ कदम चाल्न आवश्यक भइसकेको छ ।
अन्त्यमा, शिक्षा र स्वास्थ्यमा हाम्रो बजेट जहिले पनि न्युन छ । विगतमा पनि थोरै थियो । अहिले पनि बजेट थोरै छ । स्वास्थ्यमा लगानी गर्न सकिएन भने यो कोरोनाले धेरै ठूलो क्षति गर्न सक्छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।
शिक्षामा पनि त्यसैगरी बजेट बृद्धि गर्नू अनिवार्य भैसक्यो । शिक्षामा जुन खाडल देखिएको छ । त्यो पुर्नका लागि सार्वजनिक शिक्षामा लगानी बढाउनुको विकल्प छैन । यसका साथै बजेटलाई निरन्तरता मात्रै नभई नयाँ योजना र परिवर्तनका मुद्दालाई संस्थागत गर्ने बनाउन सकौ ।
(शिक्षा तथा स्वास्थ्य समितिकी सभापति घर्तीले प्रतिनिधिसभामा बोलेको बिचारको सम्पादित अंश:)