फाइल फोटो
रुकुम : रुकुम पश्चिमको आठबिसकोटमा खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते भएका छन् । आठबिसकोट नगरपालिका–३ स्यालाखदिका २३ वर्षीय कर्णबहादुर बोहरा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कपिल जंग शाहीका अनुसार घाइते बोहराको मुख, चिउडो, टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लिइएको छ । पुरानो राजनैतिक रिसीइवी, खानेपानी मुहानको पुरानो विवादको कारण घटना भएको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेल रुकुमले भने, माओवादी कार्यकर्ताको आक्रमणबाट कांग्रेस कार्यकर्ता गम्भीर घाइते भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार भौगोलिक रुपमा विकट र त्यहाँ प्रभावकारी उपचारको व्यवस्था नभएकोले हेलिकोप्टरमार्फत थप उपचारको लागि बाहिर लैजान पहल भैरहेको छ ।
घटनामा संलग्न हुनेहरुमा स्थानीय १८ वर्षका महेन्द विक, २४ वर्षका गोपाल विक, २१ वर्षका विष्णु कामी, २२ वर्षका कृष्ण विक रहेको प्रहरीले जनाएको छ । उनीहरु फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
घाइते बोहरा नेपाली कांग्रेसका कार्यकर्ता हुन् । भने, आक्रमणकारीहरु नेकपा माओवादीका कार्यकर्ता रहेको जनाइएको छ । घटनाले ठुलो रुप लिने देखिएपछि जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।