कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा प्रविधि मैत्री कक्षाकोठा निर्माण गरिएको छ । कम्प्युटर शिक्षामा विद्यार्थीको पहुँच अभिवृद्धि गर्ने ध्येयले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आर्थिक सहयोगमा अत्याधुनिक कक्षाकोठा निर्माण गरिएको हो ।
परियोजनाको रु ३२ लाखको सहयोगमा निर्माण गरिएको कक्षाकोठामा कम्प्युटर, स्मार्ट बोर्ड, ल्यापटप, फर्निचर, क्यामेरा, सिसिटिभी क्यामेरा लगायतको व्यवस्था गरिएको छ । देश विदेशमा प्रविधि, कृषि, वैज्ञानिक उपलब्धि, अन्य विकास, घटनाक्रमसँगै कम्प्युटर सम्बन्धिका कुरा विद्यार्थीलाई सिकाउनका लागि प्रविधिमैत्री कक्षा कोठा निर्माण गरी सञ्चालनमा ल्याइएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए ।
“परियोजना अन्तर्गत २६ वटा कम्प्युटर खरिद गरेका छौं” उनले भने,“विद्यालयको लगानीमा २४ वटा थप कम्प्युटर खरिद गरी कक्षाकोठामा राखिएको छ । यसबाट सहज रुपमा विद्यार्थीको कम्प्युटरमा पहुँच अभिवृद्धि भएको छ ।” सूचना प्रविधिबारे पठनपाठन गर्ने शिक्षकलाई तालिमको व्यवस्था गरी दक्ष पारिएको उनले बताए ।
विद्यालयका गतिविधि र जानकारीमूलक कुराबारे जानकारी दिनका लागि विद्यालयमा डिजिटल नोटिस बोर्डकोसमेत व्यवस्था गरिएको छ । आवश्यकताका आधारमा कक्षा १ देखि १२ सम्म र प्राविधिक तर्फका डिप्लोमा र प्रि डिप्लोका विद्यार्थीलाई कम्प्युटर शिक्षा दिने कार्य भइरहेको सहायक प्रअ पाण्डेयले जानकारी दिए ।
बढ्दो प्रविधिको प्रयोगसँगै विद्यार्थीलाई समेत त्यसबारे अभ्यस्त बनाउनका लागि परियोजना अन्तर्गत गरिएको सहयोगले मद्दत पुर्याएको उनको भनाइ छ । परियोजनाले देशभरीका सामुदयिक विद्यालयमध्ये ७० विद्यालयबाट आशयपत्र आएकामा ४० विद्यालय छनोट भएका थिए ।
सुदूरपश्चिमबाट श्रीकृष्ण माध्यमिक विद्यालय मात्रै छनोटमा परेको छ । यससँगै आधुनिक सूचना प्रविधि र डिजिटल साधनको प्रयोग गरी कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई गणित र स्वास्थ्य शिक्षामा पठनपाठन गर्ने कार्य विद्यालयका शिक्षकको पहलमा दुई वर्ष अघिदेखि सञ्चालन हुँदै आएको छ ।
कम्प्युटरमै पठनपाठनका सामग्री तयार गरी विद्यार्थीलाई प्रोजेक्टरको सहायताले देखाइ पढाउने गरिँदै आएको छ । यसबाट विद्यार्थीले सहज रुपमा सिक्ने गरेको विद्यालयका शिक्षकको भनाइ छ । कम्प्युटर शिक्षासँगै विद्यालयमा विद्यार्थीलाई पठनपाठनमा सहजता प्रदान गर्नका लागि पुस्तकालय र प्रयोगशालको समेत व्यवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहले बताए ।
उनका अनुसार कक्षा १ देखि ८ सम्म पूर्ण रुपमा निःशुल्क रुपमा पठनपाठन गरिँदै आएको छ । माथिल्ला कक्षामा न्यून शुःल्कमा पठनपाठनको व्यवस्था गरिएको छ । विसं २०२२ मा स्थापना भएको विद्यालयमा ६०० बढी विद्यार्थी पठनपाठन गर्दै आएका छन । विद्यालयमा २२ जना शिक्षक कार्यरत रहेका छन् । रासस