सिमकोट : नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्यहरुले अनिवार्य रुपमा आयआर्जन मुलक व्यवसाय सञ्चालन गर्नुपर्ने भएको छ । पार्टीको जिल्ला कमिटीमा रहेका सबैलाई उपभोक्तामुखी सोच रमाउने बानीमा परिवर्तन ल्याउन यस्तो नियम लागु गर्न लागिएको हो ।
उक्त पार्टीको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्टी अध्यक्ष शिवराज शर्माले जिल्ला कमिटीमा रहने सबै पदाधिकारी तथा सदस्यहरुले अनिवार्य रुपमा एक व्यक्ति एक व्यवसायको पार्टी नीति लागु गर्नुपर्ने निर्णय गरेको बताए ।
कतिपयले व्यवसाय सुरु गरेको र नगरेकाहरुले पनि अब पार्टीको जिल्लाको नीति अनुसार गर्नै पर्ने भएको छ । उनले पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन र राजनीतिक कर्मीहरुलाई उपभोक्तावादी शोचबाट टाढा राख्न जिल्लाले सो नीति लिएको बताए ।
यस्तै पहिलो बैठकले १५१ सदस्यीय कमिटी विस्तार गरेको पनि जानकारी गरिएको थियो । बैठकबाट ५१ सदस्यीय सचिवालय पनि गठन गरेको छ । पार्टीको संगठन विभाग प्रमुखमा कमल छत्याल, प्रचार विभाग प्रमुखमा कर्णबहादुर रोकाया, आर्थिक विभाग प्रमुखमा प्रेमा लामा र जनवर्गिय संगठन परिचालन विभाग प्रमुखमा जर्नेल जेठारालाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको जानकारी गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष शर्मा, प्रदेश कमिटी सदस्य लोकबहादुर हमाल र हस्तबहादुर शाही, सचिव कमल छत्याल, उपसचिव प्रेमा लामा लगायतका नेताहरुको सहभागिता रहेको थियो । पार्टीद्धारा जारी गरिएको विज्ञप्ति प्रचार विभाग प्रमुख रोकायाले पढेर सुनाएका थिए । त्यस क्रममा पत्रकारका जिज्ञासा उक्त पार्टीका नेताहरुले मेटाएका थिए । यसअघि जिल्लाका दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकामा संगठन विस्तार गरेको एसले अब उत्तरी क्षेत्रका तीन वटा गाउँपालिकामा कार्तिक महिनाभित्र विस्तार गर्ने जनाएको छ ।