एजेन्सी। “यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्,” युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्।
निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली हो,” उनी भन्छन्। पचास वर्षको अध्ययन एवम् अनुसन्धानपछि अबको विषय ‘निद्राले हामीलाई के गर्छ’ भन्ने होइन कि ‘निद्राले फाइदा नगर्ने केही छ कि’ भन्नेमा केन्द्रित हुन थालेको छ।
निद्राले हामीलाई के गर्छ?
निद्रा नपुगेमा हाम्रो शरीर र मस्तिष्कले राम्रो काम गर्दैन । अहिलेसम्म अध्ययनकर्ताहरूले निद्राले फाइदा नगर्ने स्वास्थ्यसम्बन्धी कुरा पत्ता लगाउन सकेका छैनन्। विज्ञानले अहिलेसम्म पत्ता लगाएको कुरो भनेको निद्राको अभावमा हाम्रो शरीर र मस्तिष्कमा नाटकीय असर गर्छ भन्ने हो।
विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।
निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ। निद्रा पुगेन भने तिनमा असर पर्छ। तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ।
हामी कम सुत्छौँ
पर्याप्त नसुत्नु आफैँलाई हानि पुर्याउनु हो । निद्रा हाम्रो लागि अत्यावश्यक छ। तर विकसित मुलुकको तथ्याङ्क हेर्दा हिजोआज मानिसहरू कम सुत्न थालेको स्पष्ट हुन्छ। हिजोआज मानिसहरू एक सय वर्षअघिको भन्दा औसतमा कम सुत्छन्।
दैनिक सातदेखि नौ घण्टा सुत्दा पर्याप्त निद्रा पुग्छ। पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ। सात घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ।
मीठो निद्रा कसरी पार्ने?
एकदमै धेरै सुत्नु पनि स्वस्थकर हुँदैन । निदाउनु भनेको तकियामा टाउको राख्नु मात्रै होइन। विश्वका धेरै मानिसहरूलाई निदाउन गाह्रो हुन्छ।
विश्वका धेरै ठाउँमा हिजोआज अँध्यारो हुँदैन। किनभने हामी धेरैजसो कृत्रिम उज्यालोमा समय बिताउछौँ । अहिले हाम्रो जीवनमा धेरै धपेडी पनि हुन्छ।
अनि हामी नपुगेको निद्रा पुर्याउन खालि समयको सदुपयोग पनि गर्दैनौँ। तर निदाउनका लागि हामी आफैँलाई प्रशिक्षित गर्न सक्छौँ। वैज्ञानिकहरू भन्छन् – हामीले आफ्नो बानी परिवर्तन गर्यौँ भने राम्रो परिणाम तुरुन्तै देखिन्छ।
सुत्ने र उठ्ने समय नियमित बनाउनुहोस् :
दिउँसो सुत्न रमाइलो होला तर राति निद्रा नपर्न सक्छ है । थाल्न सजिलो छ: सधैँ एउटै समयमा सुत्न जानुहोस् र उठ्ने समय पनि नियमित होस्। सबैभन्दा महत्त्वपूर्ण कुरा जागा रहने समय निश्चित राख्नु हो। यसले गर्दा शरीरले सुत्ने समयमा निद्रा पार्न सहयोग गर्छ।
अँध्यारोमा बस्नुहोस् :
सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ । निद्राका लागि आवश्यक महत्त्वपूर्ण हार्मोनका लागि शरीरले अँध्यारो खोज्छ। विकासको एउटा नराम्रो पक्ष भनेको हामी निरन्तर उज्यालोमा हुन्छौँ। सुत्नुअघि कोठाको उज्यालो कम गरेर हामी अँध्यारो बनाउन सक्छौँ।
यसको अर्थ मोबाइल वा टीभी वा कम्प्युटरको स्क्रीनबाट पर रहनु पनि हो। स्क्रीनले ‘नीलो प्रकाश’ निकाल्छ जसले निद्राको हार्मोन मेलटोनिनको प्रभावलाई निस्तेज पारिदिन्छ। त्यसैले सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ।
कफी कम खानुहोस् :
कफी खानु निद्राका लागि राम्रो होइन्। दिउँसो हामी कोला, कफी, चिया वा अन्य पेयपदार्थ पिउँछौँ। तिनमा हुने क्याफिन र थिनजस्ता तत्त्वले हाम्रो स्नायुप्रणालीमा रमाइलो प्रभाव देखाउँछन्।
तर प्राध्यापक वाकरको सल्लाह यस्तो छ: सुत्नु १२ घण्टाअगाडि मात्रै कफीजस्ता पेय पदार्थ पिउनुहोस्। कफीको ‘हाफ लाइफ’ हुन्छ। त्यसैले यसको प्रभाव छ घण्टासम्म आधा र नौ घण्टासम्म तीनचौथाइ एक्प्रेसो खाएजति बाँकी हुने उनी बताउँछन्। त्यसैले सुत्ने बेलामा रगतमा कफीको मात्रा बाँकी नभएकै राम्रो हुन्छ।
मदिराबारे विचार गर्नुहोस् :
मदिरा र निद्रा साथी होइनन् । प्राय: मानिसहरू मदिराले निद्रा पार्छ भन्छन्। तर यो सत्य होइन। मदिरा पिएर लागेको निद्राले स्वास्थ्य र सपनालाई राम्रो गर्दैनन्। बिबिसी