मुगु : मुगुबाट राम्रो शिक्षाको लोभमा काठमाडौँमा लगिएका ५ बालिकाले ३ वर्षपछि घरपरिवारसँग पुनर्मिलन भएको छ । कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई काठमाडौंमा रहेको जेवी फाउन्डेसन नेपाल नामक सस्थाले कक्षा १ देखि १२ सम्म पढाउने सर्तमा काठमाडौं पुर्याएको थियो । संस्थाको आर्थिक अवस्था नै कमजोर भएपछि बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइदिएको हो ।
परिवारसँग ३ वर्षपछि पुनर्मिलन हुनेमा छायानाथ रारा नगरपालिका–१२ कि उमिला विक, धनकला विक, कमलदेवी बुढा, बविता बुढा, सोरु गाँउपालिका– ८ गिलाह गाँउकी सविता शाही रहेका छन्
जेवी फाउन्डेसनलाई सहयोग गर्दै आएका विदेशी नागरिकले छोडेपछि संस्थामा संकट आएको र बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउनको लागि राष्ट्रिय बाल अधिकार परिषद्बाट उद्धार गरिएको जनाइएको छ ।
उद्दार गरेको बालिकाहरुलाई विहिबार जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी, नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्ल, नेपाल पत्रकार महासंघ मुगु शाखाका उपाध्क्षय दान बहादुर बुढाको रोहोवरमा आफन्तसँग पुनर्मिलन गराइएको हो ।
‘पहिला फाउन्डेसनमा लगानी थियो, पछिल्लो समयमा विदेशीले छोडेपछि संस्थामा समस्या भएर घरपरिवारसँग पुनर्मिलन भएकी हुँ’ उर्मिलाले भनिन् । बालिका आफन्तको सहयोगमा राम्रो शिक्षाका लागि ३ वर्ष पहिले काठमाडौँमा रहेको उक्त संस्थामा पुगेका थिए । ‘शिक्षा, स्वास्थ्य राम्रो हुन्छ’ भन्ने सुनेपछि आफ्ना बालबालिकालाई उक्त ठाउँमा पठाइएको अभिभावकले बताए ।
गत वर्षमा पनि काठमाडौका विभिन्न फाउन्डेसनबाट मुगुका १० जना बालबालिकाको घरमा पुनर्मिलन गराएका थिए । यो वर्ष पनि ५ जना बालिकालाई पुनर्मिलन गराएदिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार जिल्लामा गरिवी आर्थिक अभाव, अशिक्षाको कारण केही केही व्यक्तिको प्रलोभनमा परेर मुगुका बालबालिका टाढा भएका छन् ।