सिमकोट : नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले विकासका लागि सबै राजनीति दलहरु विकासका लागि साझा एजेण्डा बोकेर अगाडी बढ्नु पर्ने बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत हुम्लाको सातौं अधिवेशन उद्घाटन गर्दै नेता शाहीले सो कुरा बताएका हुन ।
दलका आफ्नै हिसाबले अगाडी बढ्दा दिगो विकास हुन नसकेको बताउँदै नेता शाहीले राजनीति सामाजिक विकासका लागि गर्ने भएको हुँदा साझा र परिवर्तनका पक्षमा उभिदा दल भन्दामाथि उठेर लाग्नु पर्ने बताए ।
जिल्लाबाट सबै राजनीति दलमा केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र जिल्लाका दलको नेतृत्व गर्ने व्यक्ति सहभागी सो कार्यक्रममा सिद्धान्त विचारमा टेकेर राजनीति गर्नु पर्ने तर समग्र विकासका लागि सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको उनले बताए ।
एक अर्को प्रशंगमा राजनीतिमा स्थायी शत्रु र मित्र नहुँने बताउँदै हिजो माओवादीको एक नम्बर शत्रुमा पर्ने आफु प्रचण्ड नेतृत्वको सरकारमा देशको क्याबिनेट मन्त्री हुन पुगेको बताए ।
हिजो टाउको मुल्य तोक्ने र तोकाइ पाउने दलहरु, माओवादी जंगलमा हुँदा पहिलो शत्रु ठहरिएको कांग्रेसले पटक पटक सत्ता साझेदारीमा चलाई रहेको कुरा उठाउँदै अब सत्ताका लागि मात्र होइन विकासमा पनि एक जुट भएर लाग्ने बेला आएको बताए ।
उनले अझ हुम्लाको सन्दर्भ बताउँदै पार्टीका कार्यकर्ता पोस्ने र हेर्ने मात्र प्रवृत्तिलाई रहेका बेला यसलाई सबै मिलेर विदा नदिए जिल्लाको विकास गर्न नसकिएको बताए । यसका लागि आफु एकतावद्ध भएर अगाडी बढ्न तयार रहेको र अन्य पार्टीका नेताहरुलाई पनि हातेमालोको संस्कृतिमा लाग्न आग्रह गरे ।
कांग्रेस सभापति जयपति रोकायाको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिजय भण्डारी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बिरजंग शाही, माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैसी, एमालेका प्रतिनिधि प्रकाश बहादुर शाही, नेकपा एकिकृतका अध्यक्ष शिवराज शर्मा, जसपाका अध्यक्ष धर्मराज बोहरा, राप्रपा अध्यक्ष विकास महत लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
यो अधिवेशनमा ७१४ जना क्षेत्रीय प्रतिनिधिहरुले सहभागिता जनाउँदै छन् । जिल्लाका सात वटा गाउँपाकिलाका ४४ वटा वडा मध्ये नाम्खा गाउँपालिका–६ को लिमीबाट भने, कांग्रेस अधिवेशनमा भएको छैन ।
सर्केगार्ड गाउँपालिकाको गाउँ अधिवेशन र प्रदेश ‘क’को क्षेत्रीय अधिवेशन बाहेक हुम्लामा कांग्रेसले अन्य सबै तहमा सर्वसम्मत नेतृत्व तयन गरेको छ । यद्यपी कांग्रेसको संस्थापन इतर समूहकी नेतृ एवं संविधान सभा सदस्य रीता शाही लगायतको उपस्थिती रहेको भने, थिएन । उनीहरुको टोली शुक्रबार ढिलो गरी सिमकोट आइपुग्ने थियो ।