लिच्छबीकालदेखि बाइसे चौबिसे राज्यसम्म कर्णाली सर्वशक्तिमान राज्यका रुपमा परिचित थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपश्चात कर्णालीको परिचय एउटै छ, गरीब, पिछडिएको, अभाव र समस्याग्रस्त ।
नेपालमा कुनै समस्या छ भने त्यो कर्णाली हो भन्ने बुझाई अहिले पनि आम नेपालीमा छ । तर संघीयता प्रवेशसँगै कर्णाली एउटा प्रदेश बनेको छ । वीरेन्द्रनगर सुर्खेत राजधानी बनेको छ । कर्णालीमा प्रदेशसभा संसद छ । जसले कर्णाली प्रदेश सरकार बनाउँछ । त्यही प्रदेशले सरकार बनाएपछि कर्णालीकै नेताहरुले शासन गर्न पाइरहेका छन ।
१० बर्ष जनयुद्ध लडेका कर्णालीका मानिसले छुट्टै प्रदेश बनाउन सुर्खेतमा थप रगत बगाउनु परेको थियो । जसरी एउटा सिंगो कर्णाली प्रदेश बनाउन सयौ हजारौले रगत बगाए । त्यसरी नै मान्छेहरुमा अहिले विकासको भोक जागेको छ ।
आफूले जिताएका नेताहरुमाथि भरोसा छ । तर पूर्ण विश्वास भने छैन । परिवर्तनका लागि बगाएको रगतको बदलामा राहत महसुस भइरहेको छैन । व्यवस्थित र पद्धतिगत संरचनाको समस्या छ । यसले गर्दा आफैले लडेर ल्याएको व्यवस्थाप्रति कही कतै असन्तुष्टि पनि छ ।
कर्णालीका १० वटै जिल्ला प्राकृतिक स्रोत साधनले धनी छन । भौगोलिक विकटताले बर्षौदेखि अभाव र गरीबी झेलिरहेका सबै जिल्लामा कुनै न कुनै स्रोत छ । साधन छ । मुगुको राराताल, दैलेखको ज्वाला, सुर्खेतको चौकुने सिमेन्ट खानी, जुम्ला, हुम्ला, कालिकोटमा पाइने यार्सागुम्बादेखि नेपालमै सबैभन्दा ठूलो विद्युत क्षमता भएको कर्णाली नदी छ ।
तर कर्णाली प्रदेशका धेरै घर अन्धकार छन । बत्तीको उज्यालो पुगेपनि धेरुै ठाउँमा शिक्षा र स्वास्थ्यको उज्यालो पुग्न पाएको छैन । यातायात, विद्युत, शिक्षा, स्वास्थ्य, स्वस्थ्य खानेपानीको अभाव अहिले पनि कर्णालीका धेरै बासिन्दाले झेलिरहेका छन ।
कर्णालीमाथि धेरै झेल भयो । खेल चल्यो । हारजित भयो । लुछाचुडी चलिरह्यो । तर धर्तीमाताको कर्णाली आज पनि कञ्चन छ । स्वच्छ छ । सफा छ । विकासको लहर पर्खेर बसेको एउटा ग्रह जस्तै अवस्थित छ । खासगरी कर्णालीका भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक र व्यावसायिक क्षेत्रमा थुप्रै अध्ययन र अनुसन्धान गर्न बाँकी छ । खाँचो छ त केवल एउटा फरक ऐना र दृष्टिको छ ।
यसर्थ, कर्णालीका हरेक पाटालाई नजिकबाट नियालेर प्रत्यक्ष घटनाक्रमको साक्षी बनेर पत्रकारिताको माध्यमबाट बहस, छलफल र वकालत गर्न कर्णाली खबर डटकम सञ्चालनमा ल्याएका छौ । कर्णालीको सांस्कृतिक, भौगोलिक पहिचान, प्रतिभाहरुको खोजी, कला र संस्कृतिको सम्मान तथा नयाँ विकासका लागि पृथक बहस सिर्जना गर्ने हाम्रो उद्धेश्य छ ।
सदियौदेखि राजनीतिको झेलमा कर्णालीलाई गरीब बनाइराख्ने शासक वर्गलाई झकझकाउने र नागरिकलाई आफ्नो हक अधिकार तथा उत्तरदायित्वप्रति सजग गराउने जिम्मेवारी हामी सकुशल रुपमा पूरा गर्न चाहन्छौ । कर्णालीलाई अब अभाव, गरीब र पिछडिएको परिचय फेरेर नयाँ, आधुनिक, डिजिटल, अर्गानिक र धर्तीको एउटा स्वर्ग भएको प्रदेशको पहिचान दिन जरुरी छ ।
यसका लागि सबै आ आफ्नो ठाउँबाट लागिरेहका र गरिरहेका प्रयासलाई सत्य, तथ्य र निष्पक्ष ढंगबाट ‘कभरेज’ गर्न हामी कुनै पनि हरहालतमा तयार रहनेछौ । यसका लागि तपाईहरुको पनि साथ सहयोग रहने अपेच्छाका साथ यो यात्रा शुरु गरेका छौ ।
कर्णालीखबर, दोभान मल्टिमिडिया