सिमकोट : हालसम्म दशैं तिहार जस्ता चाडपर्र्वमा कहिल्यै छुट नपाएका हुम्लावासी पहिलो पटक दशैं तिहारको अवसरमा छुटमा खाद्यान्न बिक्री गरिएको छ । राज्यबाट उपलब्ध हुने सेवा चाडपर्वमा सेवाग्राहीलाई उपलब्ध गराउनका लागि छुटको चामल खाद्य शाखाबाट वितरण गरिएको हो ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका सिमकोट शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले पहिलो पटक यसपालीको दशैं तिहारको अवसर पारेर छुटमा खाद्यान्न गएको विहिबारबाट बिक्री सुरु गरिएको बताए ।
यसरी शाखाले चार दिनसम्म सो खाद्यान्न बिक्री गर्ने भएको छ । उनले यसका लागि केन्द्रबाट दुई हजार तीन सय क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्र अनुसार प्रति क्विन्टल पाँच सय रुपियाँ छुटमा बिक्री सुरु गरिएको बताए ।
यसबाट सिमकोट गाउँपालिकाका तीन हजार खाद्यान्न कार्ड भएका सेवाग्राही, नाम्खा र खार्पुनाथ गाउँपालिकाका घरधुरी लाभ लिने भएका छन् । हरेक वर्ष दशैं तिहार जस्ता चाडवाडमा खाद्य संस्थाबाट सर्वसाधारणलाई छुटमा खाद्यान्न बिक्री गर्ने निर्देशन आउने गरेको भएपनि यसअघि कहिल्यै पनि सो खाद्यान्न बाँड्ने गरिएको थिएन ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले राज्यबाट जनताले पाउने सेवा, सुविधा र छुटको व्यवस्थालाई खाद्य व्यवस्था समितिले निर्णय गरेरै कार्यान्वयनमा ल्याएको बताए ।
२०३४ सालमा हुम्लामा तत्कालिन खाद्य संस्थानको शाखा स्थापना भएपनि जनताले कहिल्यै पनि उक्त छुटबारे जानकारी पनि पाउन नसकेको अवस्था यस वर्ष पहिलो पटक उक्त छुटमा खाद्यान्न बिक्री भएको हो ।
जिल्ला अन्य डिपो तथा बिक्री केन्द्रहरुमा भने, स्थायी कर्मचारी नभएको कारण सो छुटको खाद्यान्न बिक्री गरिने छैन । अहिले डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न हाल नभएको शाखाले जनाएको छ । हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा गरेर आठ वटा डिपो र बिक्री केन्द्र रहेका छन् ।