काठमाण्डौ । राजनीतिक दलका शीर्ष नेताहरु सीमा विवाद अन्त्य गर्न त्रिपक्षीय वार्ता गर्नुपर्ने निष्कर्षमा पुगेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बुधबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा भारतसँगै चीनसँग पनि ठोस वार्ता गर्नुपर्ने नेताहरुको निष्कर्ष छ । यसका लागि भारत र चीनलाई वार्तामा बोलाउनुपर्ने नेताहरुको भनाई छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा समस्याको समाधानका लागि राजनैतिक क्षेत्रमै वार्ता गर्नुपर्ने बताए । नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने भन्दै उनले तत्काल उच्चस्तरबाट पहल अघि बढाउन सरकारलाई सुझाव दिए ।
यस्तै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले सरकारले गम्भिर ढंगबाट वार्ता गर्नुपर्ने बताए । पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सीमा समस्याका सम्बन्धमा सरकारले पर्ख र हेरको अवस्था भन्दा तिब्र वार्तामा जोड दिनुपर्ने बताए । भारतले लिपुलेकमा नेपाली भुमि मिचेर चीन जोड्ने सडक बनाएपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।
भारतसँग वार्ता थाल्नुअघि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेर सुझाव लिएका हुन ।