काठमाडौ । भारतसँगको विवाद समाधानका लागि पहिले जनतालाई विश्वासमा लिन राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन । बुधबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा शीर्ष नेताहरुले राष्ट्रवादको जगमा सरकार बनेको भन्ने ओलीलाई पहिले जनताको विश्वास जित्न सुझाव दिएका हुन ।
राप्रपा प्रजातान्त्रिका नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पहिले जनतामा उडेको आक्रोशलाई सम्बोधन गर्न सुझाव दिए । “तपाईलाई जनताले राष्ट्रवादी नेता भन्छन । नाकाबन्दीमा तपाईले लिएको अडानले अहिले फेरि प्रधानमन्त्री बन्नु भएको हो”, लोहनीले भने, “अहिले तिनै जनता तपाईका विरुद्ध नाराबाजी गरिरहेका छन । सीमा मिचिदा किन चुप लागेको भनेर प्रश्न गरिरहेका छन । काठमाडौँका सडकमा पुत्ला जलिरहेको छ । पहिले जनतालाई भावनालाई सम्बोधन गर्नुस ।”
यस्तै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रवादको नारा लगाउनुभन्दा भारतसँग ठोस वार्ता गर्न अघि सर्नुपर्ने बताए । राष्ट्रवादको नारा जप्ने तर मिचिएको भूमि फिर्ता ल्याउन डराउने ? भन्दै ओलीलाई प्रश्न गरेका थिए । यस्तै अर्का पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अब भाषण नभई काम गरेर देखाउनुपर्ने बताए ।
नाकाबन्दी र भूकम्पको बेला जनताले साथ दिँदा भारतसँग अडान लिन सकिएकाले अहिले त्यतिबेला बोलेको कुरा पूरा गरेर देखाउनुपर्ने बताए । “अब उधारो बचन दिएर हुदैन । भारतसँग कुटनीतिक वार्ता गरेर मिचिएको नेपाली जमीन फिर्ता ल्याउनुपर्छ । नत्र जनताले माफी दिनेवाला छैनन्” देउवाले भने ।
यस्तै नेताहरुले भारतसँगै चीनसँग पनि वार्ता गर्नुपर्ने सुझाव दिएका छन । लामो समयदेखि भारतसँग सीमा विवाद चलिरहेका बेला चीन साक्षी भएकाले अब भारत र चीन दुबैसँग वार्ता गर्नुपर्ने नेताहरुको सुझाव छ ।