जुन दिन कर्णाली राज्य बलियो थियो । जुन दिन सिँजा राज्यका नाममा कर्णाली सुनिन्थ्यो । अनि जुन दिन बाइसे चौबिसे राज्यमा सबैभन्दा शक्तिशाली राज्य कर्णाली थियो । त्यस दिन कर्णाली सबथोक थियो । यो देशको राज्य थियो । कला थियो । संस्कृति थियो । सम्भावना होइन, देशको अमूल्य सम्पति थियो । जसलाई हत्याउन सारा नेपाल राज्य लालयित थियो ।
तर आज कर्णाली एउटा सपना छ । सम्भावना छ । संसार छ । सदृश्य स्वर्ग छ । रारा तालको उचाई र शे फोक्सुन्डो तालको गहिराईमा कर्णाली छ । पानीभन्दा पर्यटनको भण्डार छ । भेरी र कर्णाली नदीको सम्मिश्रणयुक्त दोभान छ । पचाल झरना छ । स्यार्पु ताल छ । कुपिन्डे दह छ । लाप्चाको सामुन्नेमा कैलाश मानसरोवर छ । इतिहासका राजाको गद्दी र राज्यको सुरक्षा गर्ने खलंगा छ । के छैन कर्णालीमा ? सबथोक छ ।
गरीबी छ । अभाव छ । अशिक्षा छ । जनयुद्धकालिन युद्धको डोब छ । द्धन्द्धको घाउ छ । शहिदको रगत छ । सपना छ । शहिदका सपनामाथि तुषारापात पनि छ । सम्भावनाको राजनीतिक खेती गर्ने कर्णाली प्रदेश सरकार छ । त्यति मात्रै होइन, पानीमाथि आगो बल्ने दैलेखको ज्वाला छ । पाँच पाण्डवले स्थापना गरेको किंवदन्तीयुक्ती पन्चदेवल छ । गंगा र मालाको कथा बोकेको धार्मिकस्थल देउती बज्यै छ । हिन्दु र बौद्धको आस्था अट्ने दोस्रो लुम्बिनीका रुपमा काँक्रेबिहार छ । कर्णालीको राजधानी नियाल्न मिल्ने सुर्खेतको घण्टाघर छ । नेपाल राज्यको स्थापना गराउने सिँजा सभ्यता छ ।
घर बनाउने ढुंगा खानी । संरचना बनाउने सिमेन्ट खानी । मेशिन बनाउने फलाम खानी । गहना बनाउने सुनखानी । गाडी बनाएर चलाउने पेट्रोल खानी । उत्खनन् गर्न बाँकी कर्णालीमा सबथोक छ ।
सबथोक भएर पनि केही नभएको जस्तो समस्या छ । खराब प्रवृत्ति छ । आधुनिक युगमा पुरानो तस्बिर छ । झुत्ते, झुम्रो कपडा लगाएकी बालिकाको तस्बिर छ । त्यही तस्बिरलाई कर्णालीको परिचय बनाइरहने गिरोह छ । यहाँ त्यस्तो षडयन्त्र मात्रै होइन, त्यसको शल्यक्रिया गर्ने साहित्य छ । शक्तिशाली प्रतिभा छ । प्रतिभा जन्माउने माटो छ । १५ लाख बढी जनसंख्या छ । हरेक जनाको व्यक्तिगत दुःख छ । पीडा छ । कथाव्यथा छ । जसको नाम कर्णाली छ ।
अब कर्णालीको यतार्थ बताउने । वास्तविकता ल्याउने । समस्या नियाल्ने । समाधान खोज्ने । प्रवृत्तिमाथि खरो टिप्पणी गर्ने । सन्तुलित विचार बोक्ने । भुईमान्छेको कथा लेख्ने । भू राजनीतिक गतिविधिको गहिरो विश्लेषण गर्ने । आधुनिक कर्णाली बनाउने सपना देख्ने । कर्णाली चिनाउने अभियान चलाउने । पर्यटकीय स्वर्गको सदृश्य वर्णन गर्ने । १० वटै जिल्लाका नयाँ र ताजा घटना विवरण सार्वजनिक गरेर तपाईं सँगसँगै सहयात्रा गर्ने । कर्णालीखबर डटकम तपाईहरु माझमा छ । सन्तुलित विचार र हरेक घटनाक्रमको समाचार अपडेटका साथ कर्णालीको विकास, बहस र समृद्धि ल्याउने अभियानका सहयात्री बन्न हामी प्रतिबद्ध छौँ ।