सिमकोट : हिमालपारीको गाउँ लिमीका तीन गाउँका लागि सुविधा सम्पन्न प्रसूति गृहसहितको स्वास्थ्य चौकी भवन निर्माण भएर सञ्चालनमा आएको छ । स्वास्थ्य चौकी सञ्चालनमा आएपछि लिमीका तीन गाउँका स्थानीयलाई उपचारमा सहज समेत भएको हो ।
लिमीका स्थानीय छिरिङ तामाङले नयाँ र आधुनिक सुविधासहितको प्रसूति गृह र स्वास्थ्य चौकी निर्माण भएर सञ्चालनमा आउँदा उपचारबाट बञ्चित लिमीका स्थानीयलाई सहज भएको बताए ।
पहिला भएको स्वास्थ्य चौकी पुरानो र जीर्ण हुँदै गएको बेला स्थानीयको माग अनुसार नयाँ प्रसूति गृहसहितको स्वास्थ्य चौकी भवन निर्माण भएको हो ।
उनले स्वास्थ्य चौकीमा विरामीको उपचारका साथै अब, पहिलो पटक लिमीका गर्भवती महिलाहरुले प्रसूति गृहमा सुत्केरी हुन पाउने छन् ।
यसअघि परम्परागत विधिबाट सुत्केरी हुने गर्भवती महिला अब स्वास्थ्यकर्मीको सहयोगमा प्रसूति गृहमा सुत्केरी हुन सुरु भएको छ ।
दुर्गम स्थानमा सुविधा सम्पन्न स्वास्थ्य चौकीको निर्माणले विरामी र सिंगो लिमीबासीका लागि सुखद पक्ष हो ।
स्वास्थ्य चौकी निर्माणका लागि प्राविधिक सहयोग गर्दै आएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक गोबिन्द शाहीले पहिलेबाटै माग हुँदै आएको लिमीका स्थानीयको माग पुरा भएको बताए ।
तीन कोठे स्वास्थ्य चौकी भवनमा एउटा कोठा प्रसूतीका लागि व्यवस्था गरिएको छ । भवनमा तीन वटा शौचालय समेत भित्रै भएको र त्यसमा तातो पानी आउने व्यवस्था समेत भएका कारण जाडोमा विरामीलाई सरसफाइ गर्न सहज हुनेछ ।
कुल लागत ७१ लख लागेकोमा छाँया नेपालले ४५ लाख, गाउँपालिकाले २० लाख र स्थानीय बासिन्दाको जनश्रमदान छ लाख लागेको छ ।
सुविधासहितको भवन निर्माण भएर सञ्चालनमा आएकोले अव विरामी हुँदा लामा बसाल्ने वा चीनको ताक्लाकोटमा गएर उपचार गर्नुपर्ने बाध्यताबाट लिमीवासीलार्ई मुक्ति मिलेको छ ।
स्वास्थ्य चौकीका लागि गाउँपालिकाले तीन जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ ।