खलंगा : कर्णालीकै प्रसिद्ध धार्मिक स्थल जुम्लाको चन्दननाथ र बटुक भैरवनाथको लिङ्गो खडा गरे विधिपूर्वक घटस्थापना सुरु गरिएको छ । चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो, लिङ्गोमाथि ५२ हातको ध्वजा लगाएर घटस्थापना सुरु गरिएको होे ।
एक वर्षमा ५२ हप्ता हुन्छ, धार्मिक मान्यता अनुसार चन्दननाथमा ५२ हातको लिङ्गो खडा गर्ने चलन रहेको छ । वर्षेनी घटस्थापनाको दिनमा पुरानो लिङ्गा निकालेर नयाँ लिङ्गो हाल्ने चलन रहेको छ ।
भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राखिएको छ । चन्दननाथ र भैरवनाथ मन्दिरमा थपिने दुई वटा लिङ्गो ४२ देखि ४५ हातसम्मका हुने गरेका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो ठड्याइएको हो । लिङ्गो ठड्याइसकेपछि मात्रै जुम्लामा घटस्थापना सुरु हुने गरेको छ ।
संस्कृत विद् रमान्द आचार्य भन्छन्, ‘यहाँको पुजा सकेर घर–घरमा जमरा राखिन्छ। बिहान ७ बजेपछि पुरानो लिङ्गो ढाल्ने र नयाँ लिङ्गो ठड्याइने काम सुरु हुने गरेको छ । यो दिन नव दुर्गामध्ये शैलपुत्रीको पूजा आराधाना गरिन्छ। आजकै दिन जुम्लाबासीले नुवागी खाने गर्छन् ।’
जुम्लाको परम्परा अनुसार मार्सी धान पनि आजकै दिनदेखि काट्न सुरु गरिन्छ । विश्वकै अग्लो स्थानमा फल्ने मार्सीधानको उत्पादन गर्ने चन्दनाथबाबा भएका भन्दै चन्दननाथ मन्दिरमा चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने प्रचलन रहेको स्थानीय दीपबहादुर मल्लले बताए ।