फाइल फोटो
सिमकोट : हुम्लाबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा प्रतिनिधित्व गरेकी सासद रंगमती शाहीले जिल्लाका समस्या समाधानका लागि आफुले संसदमा अहिलेसम्म गरिएका प्रयासबारे सार्वजनिक गरेकी छन् ।
जनप्रतिनिधिहरुलाई जनताका पक्षमा गरेका कामका बारेमा प्रश्न उठिरहेको बेला सांसद शाहीले आफुले गरेका कामको फेहरिस्त सार्वजनिक कार्यक्रम नै आयोजना गरेर जानकारी गरेकी हुन ।
संसद शाहीले २०७४ सालमा संसदमा प्रतिनिधित्व गरेदेखि हालसम्म जिल्लाका समस्या समाधानका लागि आफुले गरेका पहल र उठाइएका आवाजबारे हुम्लीवासीलाई जानकारी दिने कार्य दिने कार्यक्रम आयोजना गरेकी हुन् ।
जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि जनताका लागि गरेका कामको बारेमा सार्वजनिक कार्यक्रम गरेर जानकारी दिने सांसद शाही जिल्लामा पहिलो देखिएकी छन् । उनले, सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न, कर्णाली करिडोरको हुम्ला सडकखण्डको बाँकी सडक सेनालाई दिनुपर्ने आवाज संसद र मन्त्रालयमा लविङ गर्दै आएकोमा त्यो माग अहिले आएर सरकारले पुरा गरेको जानकारी गरिन् ।
यो अवधिमा उनले, खाद्यान्न समस्या, स्वास्थ्य संस्थामा औषधिको अभाव, गर्भवती महिलाका लागि हवाइ उद्धारको व्यवस्था गर्नुपर्ने जस्ता मागलाई सरकारबाट पुरा गराउन सफल भएको बताइन् । त्यसैगरी महिला हिंसा अन्त्य, निर्माणधीन कर्णाली करिडोरको अनुगमन, प्रकोप पीडितलाई राहतको व्यवस्था संघीय सरकारबाट उपलब्ध गराउन सफल भएको उनले बताइन् ।
यस्तै उनले, नेपाल टेलिकमको गुणस्तरीय सेवा प्रवाहका लागि संसदको उठाएको आवाज र सरोकारवाला पक्षसँग समन्वय गर्दा केही राहत हुम्लीवासीलाई मिलेको अझै पुर्ण नभएको बताइन् ।
‘कोरोना महामारीका बेला काठमाडौं लगायत जिल्ला देशका अन्य जिल्लामा रहेका नागरिकको उद्धार, राहत वितरण र औषधिको व्यवस्था लागि निकै कष्टका साथ काम गर्नु परेको छु’ उनले भनिन्, ‘पछिल्लो समय लाप्चा क्षेत्रमा दुई देशका सीमास्तम्भका बारेमा उठेका विषयलाई सम्बोधन गर्न अध्ययन समिति गठन गर्न सरकारलाई माग गरेको थिए । सरकारले पुरा पनि गरिदियो । ’
संसद पदमा रहँदा भोगिएको समस्या र चुनौतीका बारेमा पनि शाहीले जानकारी गराएकी थिइन् । उक्त कार्यक्रममा राष्ट्रिय सभाका सासद डा. खिमलाल देवकोटा र कर्णाली प्रदेश सभाका सदस्य जीवनबहादुर शाही लगायतको उपस्थिती रहेको थियो ।