सुर्खेत : जिल्ला खेलकद् विकास समिति सुर्खेतका भूतपूर्व अध्यक्ष एंव फुटबल खेलाडी स्वर्गीय यज्ञ गुरुङको सम्झनामा अक्षय कोष स्थापना हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकामा प्रमुख देवकुमार सुवेदीसहित जिल्ला फुटबल संघ सुर्खेत र संघका अध्यक्ष जनकबहादुर रावलले संयुक्त रुपमा अक्षय कोष स्थापना गर्ने भएका हुन् ।
संघले बुधबार विजया दशमी तथा दीपावलीको अवसर पारी आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको हो । खेलाडीको सम्मान र गुरुङको सम्झनामा स्थापना गरिने कोषमा नगरप्रमुख सुवेदीले व्यक्तिगत रुपमा एक लाख, फुटबल संघले ५१ हजार र संघका अध्यक्ष रावलले २५ हजार पाँच सय रुपैयाँ सहयोग गर्ने घोषणा गरे । कोषको प्राप्त हुने ब्याजबाट हरेक बर्ष उत्कृष्ट फुटबल खेलाडीलाई सम्मान गरिने भएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख देवकुमार सुवेदीले, खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धताजनाए । उनले वीरेन्द्रनगरको खेलकुद् क्षेत्रमा फ्रि–वाईफाईको व्यस्थापन र प्रदेश रंगशाला निर्माण नहुँदा सम्मका लागि कालुन्चौक मैदानलाई वैकल्पिक खेलकुद मैदान बनाउने प्रतिवद्धता जनाए ।
कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले, प्रदेश खेलकुदको विकासका लागि परिषद्ले भौतिक संरचना निर्माणलाई तीव्रता दिएको जनाए । वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रदेश रंगशाला निर्माण प्रक्रिया सुरु हुनु खेलकुद् क्षेत्रको ठूलो उपलब्ध भएको उनले बताए । साथै प्रमुख सुवेदीले आउँदो मंसिरदेखि निर्माण थालिने रंगशाला ३० महिनाभित्र सम्पन्न हुने जानकारी दिए ।
त्यस्तै, कार्यक्रममा संघका अध्यक्ष जनकबहादुर रावलले कात्तिक २४ गतेदेखि जिल्ला लिग र मंसिर दोस्रो सातादेखि मेयर र उपमेयर कप फुटबल प्रतियोगिता हुने जानकारी दिए । खेलकुद पत्रकार मञ्चका अध्यक्ष भानुभक्त अधिकारी, फुलबल संघ सुर्खेतका महासचिव गणेशकुमार कार्की, लगायत खेलकुद्का विभिन्न विधामा क्रियाशिल प्रशिक्षक र खेलाडीहरुले शुभकामना दिएका थिए ।