सुर्खेत : वीरेन्द्रनगर बजार क्षेत्रमा संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गरेको छ । उक्त टोलीले शुक्रबार वीरेन्द्रनगरका विभिन्न बजार क्षेत्रमा सञ्चालित खाद्य, किनारा तथा मार्ट पसलहरु गरी दशवटा पसलमा अनुगमन गरेको हो ।
वाणिज्य तथा आपूर्ति कार्यालय नेपालगंज, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयूक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमनको क्रममा विभिन्न उपभोग्य म्याद समाप्त भएका २५ हजार मुल्य बराबरका विभिन्न खाद्य तथा उपभोग्य सामाग्रीहरु विस्कुट, क्रिम, कोलगेट, सुजी, कोल्ड ड्रिस, दालमोट, पाउरोटी, मसला, खाने तेल नियन्त्रणमा लिई टोलीबाट नस्ट गरेको छ । अनुगमनकै क्रममा सुर्खेतको स्काई जनरल स्टोरलाई ५ हजार जरिवाना समेत तिराएको प्रशासनले जनाएको छ ।
साथै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय सुर्खेतको अर्को अनुगमन टोलीबाट वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न पसलहरुमा नापतौलका विभिन्न सामाग्रीहरुको अनुगमन गरेको छ ।
बजार अनुगमनको क्रममा विगतमा भएका अनुगमनको क्रममा दिईएको सुझावहरूको कार्यान्वयन भए नभएको, मूल्य सुची राखे नराखेको, पसल दर्ता गरेनगरेको, खाद्य तथा गैह्र खाद्य सामाग्रीहरुको छुट्टाछुट्टै व्यवस्थापन गरे नगरेको, उपभोग्य म्याद समाप्त भए नभएको नापतौलका सामाग्रीहरु दुरुस्त रहे नरहेको जस्ता कुराहरुलाई ध्यान दिई मालसामानहरुको विक्रि वितरण गर्न सुझाव दिएको बताईएको छ ।