सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लकडाउन कडा गरिएको छ । छिमेकी जिल्ला बाँके, बर्दिया र कैलालीमा संक्रमितको संख्या बढ्दै जान थालेपछि सुर्खेतमा लकडाउन कडा गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
लकडाउन उल्लंघन गरेर बाहिर हिड्नेलाई प्रहरीले पक्राउ गर्नेदेखि सडकमै 'होल्ड' समेत गर्ने गरेको छ । लकडाउनको अवज्ञा गरेर गाडी चलाउनेलाई पनि प्रहरीले कारबाही गर्नुका साथै सवारी नियन्त्रणमा लिएर नागरिकलाई सचेत बनाउन थालेको छ ।
दुई हजार बढी कारबाहीमा, साढे ६ सय गाडी नियन्त्रण !
गत चैत ११ देखि वैशाख ३१ गतेसम्म लकडाउन उल्लङ्घन गर्ने दुई हजार २८२ नागरिक र ६५१ सवारी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये ४०२ सवारी साधन ट्राफिक कारवाही गरेर छाडिएको २४९ प्रहरी नियन्त्रणमै रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सवारीमा ५४६ मोटरसाइकल, ८१ चारपाङ्ग्रे र २४ अटो रहेको सूचना अधिकारी रायमाझीले बताए। उनका अनुसार प्रहरीले नागरिकलाई कारवाहीस्वरुप तीन घण्टासम्म सडकमै उभ्याउने, चोकमा राखेर कोरोना भाइरस र त्यसको विश्वव्यापी प्रकोपबारे जानकारी दिलाउनेसहित आत्मअनुशासित नागरिक हुन सिकाएको थियो ।
घरबाहिर नहिड्न प्रशासनको आग्रह
बुधबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुचना जारी गरेर घर बाहिर नहिड्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम दैनिक बढ्दै गएकाले घरबाहिर नहिड्न र हिड्नैपरे प्रहरीसँग समन्वय गर्न प्रशासनले आग्रह गरेको छ ।
कर्णाली प्रदेशको राजधानी र प्रदेश प्रवेश गर्ने नाका भएका हिसाबले पनि सुर्खेतमा लकडाउन कडाई गर्नुपरेको प्रशासनको भनाई छ । प्रशासनबाट आदेश पाएपछि प्रहरीले पनि सडकमा लकडाउन थप कडा गरेको हो ।