तस्बिर : पुल निर्माण भएलगत्तै मार्क होअलले खिचेको फोटो । संकलक सुनिल उलक
वि.स. २०१६ सालमा नै कर्णाली परियोजना सम्बन्धी आन्तरिक रुपमा तैयारी शुरु भयो । कर्णाली नदीमा ठूलो जलविद्युत आयोजनाको खाका बुनियो ।
वि.स. २०१७ बैशाख १५ देखि १८ गतेसम्म भएको राजा महेन्द्रको अमेरिका भ्रमणमा पश्चिम नेपालको बृहत्तर विकासको साथै नेपालको हितका लागि कर्णाली बहुउद्धेश्यीय परियोजना विषयमा पनि छलफल भएको थियो ।
विश्व बैंक र यूएनडिपी यस कार्यको तयारीमा जुटे । विभिन्न छलफलकै क्रममा राजा महेन्द्रको देहावसानले परियोजनाका कुरा गफै मात्र भयो ।
भारतीय चाँसो र स्वार्थ
पूर्वी नेपालको कोशी तथा गण्डकीमा आफ्नो योजना अनुसार हात पारिसकेको भारतको बिशेष चासो पश्चिम नेपालको सबैभन्दा ठूलो नदी कर्णालीमा पनि पर्यो । वि.स. २०३४ सालको मंसिरको अन्तिम सप्ताह भारतीय प्रधानमन्त्री मोरारजी देसाइको नेपाल भ्रमणको समय कर्णाली चिसापानी बहुउद्धेश्यीय आयोजनामा भारतले चासो राख्यो ।
जस अनुसार १० हजार ८०० मेगावाट बिद्युत तथा ३६ लाख हेक्टर जमिनमा सिचाइ गर्ने योजना बन्यो । जसमा केवल २ लाख हेक्टर जमिन नेपालमा सिचाइ उपलब्ध हुने भनिएको थियो ।
यसको लागि ५ खर्ब लाग्ने अनुमान गरिएको थियो । यसपछि पनि विभिन्न चरणमा विभिन्न छलफलहरु भए । तर यो त्यसै सेलायो । पश्चिम नेपालको मात्र नभइ सिङ्गो नेपालको नै पहिचान हुन सक्ने यो विशाल परियोजना विश्व बैंक र भारत बिचको स्वार्थको लडाइले पुरा हुन नै दिइएन ।
पूर्व पश्चिम राजमार्गले देशलाई छिचोल्न थालेपनि कर्णालीमा पुल नहुँदा फेरीबाट तर्नु पर्ने बाध्यता भयो । कर्णालीमा पुल नहुदा निकै समस्या पर्न थालेको थियो ।
कर्णाली नदी चिसापानीमा पहाड छिचोलेर तराइ प्रवेश गर्ने बिन्दुको रुपमा रहेको थियो । झट्ट हेर्दा तराइ भूभाग झै लागे पनि यहाँको मौसम चिसो र पानी पनि चिसो हुने हुँदा यो ठाउँको नाम नै चिसापानी रहेको थियो । चिसापानीको पनि आफ्नै किंवदन्ती गाँसिएको छ ।
चिसापानीको किंवदन्ती
कुनै बेलाका जुम्लाका राजाले आफ्नो प्यारो राजकुमारीको बिबाह तराइका राजकुमारसंग गराउने पक्का गरेछ । तर जुम्लाको चिसो मौसममा हुर्केको आफ्नो छोरी अचानक विवाह पछि तराइको प्रचण्ड गर्मीमा बस्न कठिन हुने भन्दै राजा रानीलाई ठूलो चिन्ता लाग्न थालेछ ।
निकै सोच विचारपछि राजाले दरवारमा ठूलो सभा बोलाएछ । सभामा राजाले राजकुमारीको विवाह तराइमा हुन लागेको तथा त्यहाँको गर्मीले जुम्लाको चिसो मौसममा हुर्किएकी राजकुमारी आत्तिन सक्ने हुँदा तराइमा राजकुमारीलाई बस्न सहज गराउन के गर्न सकिन्छ भन्ने सल्लाह मागे ।
धेरैका धेरै विचारहरु आए । राजाले सभामा धामीलाई पनि बोलाएका थिए । बिभिन्न किसिमका बिचार विमर्श भइरहदा राजाले धामीलाई मन्त्रले फुकेर दुध भर्ने बाँसको गाबुमा जुम्लाको चिसो हावा राखिदिन आग्रह गरे ।
नभन्दै धामीले आफ्नो मन्त्रको शक्तिले जुम्लाको चिसो हावालाई गाबुमा राखेर बिर्को बन्द गरेर राजालाई दिए । राजा तथा रानीले राजकुमारीलाई सो गाबु दाइजोको रुपमा छोरीको घर पठाउने बिचार गरे ।
जसै छोरीको विवाह पछि राजकुमारसंग घर फर्कने बेला आयो । राजा रानीले छोरीलाई माइतको कोसेली भन्दै गाबु पतिको घर नपुग्दासम्म नखोल्न भनेर दिइ पठाए ।
माइतबाट निस्कदादेखि नै राजकुमारीलाई खुलदुली भइरह्यो । आमाबुबाले गाबुमा के दिएर पठाएका रहेछन् भनेर हेर्न आतुर भइरह्यो । कर्णाली नदीमा डुङ्गाको यात्राका क्रममा जब बुङघाटमा राजकुमार र राजकुमारी पुगे ।
राजकुमारीलले मन थाम्न सकिनन् र गाबुको ढक्कन खोलेर हेर्न चाहे । जसै राजकुमारीले गाबुको ढक्कन खोले । मन्त्रको शक्तिले कोच्चिएको चिसो हावा एकैचोटी डरलाग्दोसंग बाहिरियो । हावाको बेगले ठूलो आँधी चल्यो । कर्णालीमा बाढी आयो । राजकुमार र राजकुमारी चढेको डुङ्गा बेतोडसंग पल्टियो ।
राजकुमारलाई कर्णालीको बेतोडको पानीले हुत्याएर लग्यो । त्यसपछि ठूलो ढुङ्गामा ठोक्किएर राजकुमारको देहान्त भयो । राजकुमारीलाई पनि हुत्याएर अझ पर लग्यो । अर्को केही सानो ढुङ्गामा ठोक्किएर राजकुमारीको पनि प्राण गयो ।
दुबै राजकुमार र राजकुमारीको देह ढुङ्गा भएर कर्णाली किनारमा रहन पुग्यो । ढुङ्गाको रुपमा रहेका राजकुमार र राजकुमारीलाई अझै पनि चिसापानीवासीले बिर्सन सकेका छैनन् । कर्णाली किनारमा अझै पनि ति ढुङ्गाको स्वरुपमा रहेका राजकुमार र राजकुमारीलाई कर्णाली किनारमा देख्न सकिन्छ ।
यहि कर्णालीको चिसापानी जहाँ कुनै बेला राजकुमार र राजकुमारीको मृत्यु भएको किंवदन्ती प्रख्यात छ । त्यहि नजिकै महेन्द्र राजमार्गको सबैभन्दा आकर्षक पुल रहेको छ ।
कर्णाली पुलको फरक संरचना र दिगोपना
नेपालको सुदुर पश्चिम क्षेत्रलाई नेपालको अन्य भागसंग जोड्ने यो पुलको निर्माण २०५० साल मंसिर २८ गते सम्पन्न भएको थियो । नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो । यस पुलको बिचमा ठूलो खम्बा 'पाइलन' ठडिएको छ ।
जसमा स्टीलका तारहरु बाँधेर अड्याइएको छ । यो ५०० मिटर लामो तथा ११ दशमलव ३ मिटर चौडा यस पुलको दाँया बाँया मानिस हिड्ने पेटी पनि बनाइएको छ ।
यस पुललाई १२० मिटर अग्लो खम्बाले एक भाग तिर ३२५ मिटर र अर्को भाग तिर १७५ मिटरले छुट्याएको छ । यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको थियो ।
जापानको प्रख्यात कम्पनी कावासाकी हेवी इन्डस्ट्रिजले तैयार गरेको यस पुल नेपालको एक नमुना पुल हो ।
अमेरिकाको स्टिनमन बोन्टन ग्रोनक्वीस्ट एण्ड बन्डसल न्युयोर्क इञ्जिनियरिङ कम्पनीको डिजाइनमा बनेको यस पुललाई दुबै तर्फ ३० ३० वटा मोटा तारका लट्ठाले अड्याइएको छ ।
पूर्णरुपमा ज्यामितीय सुत्रमा बनाइएको यस पुलमा प्रत्येक लट्ठाको भार क्षमता अलग अलग रहेको छ । स्टीलले बनेको ट्रस्टमा ९ इन्च मोटो सिमेन्टको कंक्रीट स्लावहरु राखिएको छ ।
७ मिमी मोटा तारका गुजुल्टाले बनेका ३० वटा लट्ठाहरुमा तारको संख्या सबैमा भिन्न भिन्न राखिएका छन् । सबैभन्दा छेउका लट्ठाहरु सबैभन्दा मोटा छन् भने बिचका मसिना छन् ।
त्यतिबेला अर्थात २०४० सालमा करिव २३ करोड ६४ लाख रुपैया (१ करोड ५८ लाख अमेरिकी डलर) को योजना बनेको सो पुल देशकै सुन्दर र महंगो पुलमा परेको थियो ।
विश्व बैंकको सहयोगमा बनेको यस पुलको सम्पूर्ण नक्सा अमेरिकी इञ्जिनियरिङ कम्पनीले बनाएको थियो भने निर्माणको काम जापानको कावासाकी हेभी लैव्सले गरेको थियो ।
(यो सामग्री इतिहासकार सुनिल उलकले तयार पारेका हुन् । नेपालका विभिन्न पुल र भौतिक संरचनासँग जोडिएका पुलका बारेमा उनी निरन्तर लेख्दै आएका छन् ।)