खलंगा : जुम्लाका एक सय ४ घरपरिवारलाई राहत वितरण गरिएको छ । कोरोनाका कारण रोजगारी गुमाएका तीन स्थानीय तहका एक सय चार परिवारलाई राहत वितरण गरिएको हो ।
राहत पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका भित्रका कोरोना प्रभावितलाई राहत वितरण गरिएको हो । राहतमा, एक बोरा चामल, साढे २ केजी दाल, दुई लिटर तेल, एक केजी नुन, एक केजी चिनी वितरण गरिएहो हो ।
तातोपानीका ४३, पातारासीका ४० र चन्दननाथका ३० घरपरिवारले राहत पाएका छन् । कोभिडका कारण मजदुरी गरेर दैनिक परिवार पाल्दै आएकाहरु कोरोनाका कारण काम बन्द हुँदा खाद्यान्नको जोहो गर्न कठिन भएको थियो । यस्तो बेला पालिकाले राहत उपलब्ध गराएको हो ।
पातारासी गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले भनिन्, ‘कोभिडले थलिएका परिवारको पहिचान गरेर राहत दिइएको छ । दसैँ आउँदै नजिकिदै गर्दा विपन्नलाई हातमुख जोड्न निकै कठिन हुने गरेको थियो । यस्तोलाई पहिचान गरेर राहत वितरण गरिएको हो ।’
कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१, अन्तर्गत खाद्यान्न सामग्री सहयोग गरिएको हो । कोरोनाबाट प्रभावित ताराबहादुर बोहोराले यो खाद्यान्न एक महिनासम्म चल्ने बताए ।