काठमाडौँ, १ जेठ । काठमाडौँ उपत्यका कोरोना भाइरसको जोखिममा पर्दै गएपछि उपत्यकामा थप कडाई गर्ने भएको छ । काठमाडौँ र भक्तपुरमा कोरोना संक्रमित फेला परेसँगै उपत्यकामा शुक्रबारदेखि लकडाउन कडाइ गर्ने निर्णय गरेको हो ।
बिहीबार गृह मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा बनाउने निष्कर्ष निकालेको हो।
बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीका अनुसार भोलिदेखि आवातजावातको चेकिङमा थप कडाइ गरिनेछ। ‘चेकिङ कडा गर्ने, उपत्यका भित्रनेरबाहिरिने नाकाहरूमा थप कडाइ गरेर जाने भन्ने निष्कर्षमा हामी पुगेका हौं,’उनले भने ।
कोरोनाविरूद्ध लडाइँमा सबै एकजुट भएर जाने पनि छलफल भएको उनले बताए। बैठकमा सहभागी मेयरहरूले भित्री सडकमा पनि चेकमा कडाइ गर्न सुझाव दिएका थिए।
गृह मन्त्रालयले आजदेखि लागू हुने गरी सबैखाले पास रद्द गरिदिएको छ। जिल्लामा पास दिनुपरे प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्नेछ।
यसअघि सरकारले खोल्ने भनेका ४२ उद्योगका बारेमा पनि पुनर्विचार गर्न मेयरहरूले बैठकमा आग्रह गरेका थिए। नेपालमा अहिलेसम्म कोरोनाबाट दुई सय ४६ जना संक्रमित छन्।