काठमाडौँ : विश्वमा सबैभन्दा धेरै मन पराइने फ्रेन्चाइज लिगका रुपमा आइपीएल मानिन्छ । विश्वका सबै स्टारलाई महंगो मूल्यमा किनेर खेलाइने भएकाले पनि यो लिग त्यत्तिकै महंगो मानिएको हो ।
खासगरी भारतीय क्रिकेटलाई नयाँ उचाईमा लिने बिसीसीआईको योजनाअनुसार आइपीएल क्रिकेट खेलाउन थालिएको हो । जहाँ भारतकै उच्चस्तरका क्रिकेटरले कप्तानी गर्छन भने अरु खेलाडीले आफूलाई निखार्ने मौका पाउँछन् ।
अझ दक्षिण अफ्रिकाका बेंग्लोर सुपरस्टार एबी डिभिलियर्सका कुरा सुन्ने हो भने त आइपीएल टी ट्वान्टी विश्वकपभन्दा पनि धेरै हेरिने खेलमा पर्छ ।
कुनै एउटा देशको क्रिकेट टिममा सबै खेलाडी उत्कृष्ट हुँदैनन् । तर आइपीएलका सबै जसो टिम उत्कृष्ट खेलाडीले भरिएका हुन्छन् । त्यसैले आइपीएलका टिम अरुभन्दा महंगा र सबै विशेषताले भरिएका हुन्छन् ।
विराट युगको विशेषता
पछिल्लो केही वर्षयता आइपीएलमा सर्वाधिक चर्चा विराट कोहलीको हुन्थ्यो । सन् २००८ मा उनले आइपीएलमा डेब्यु गरेका थिए ।
त्यसको चार वर्षपछि उनले रोयल च्यालेन्जर्स बेंग्लोरको कप्तानी सम्हाले । झण्डै ११ वर्ष उनले बेंग्लोरको कप्तानी मात्रै होइन, पूरा आइपीएललाई आफ्नो वरिपरी राखे ।
उनले आइपीएलमा एकै सिजन पाँच शतक बनाउने रेकर्ड बनाएका छन् । अनि एकै सिजन सर्वाधिक ९४३ रन बनाउने किर्तिमान बनाएका छन् ।
आइपीएलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने उनी टी ट्वान्टी क्रिकेटमा १० हजार रन पूरा गर्ने एक्ला भारतीय क्रिकेटर हुन् ।
एउटै टिमबाट २०० बढी खेल खेल्ने उनी एक्ला आइपीएल क्रिकेटर हुन् । उनका यस्ता दर्जनौ रेकर्ड छन् । उनले टिमको कप्तानी गर्दा पूरा टिम उत्साहित हुन्थ्यो ।
विराट कोहलीको टिममा शेन वाट्सन, एबी डिभिलियर्स, क्रिस गेल, ग्लेन म्याक्सवेल जस्ता विश्व चर्चित क्रिकेट खेल्दा पनि विराटकै बढी चर्चा हुन्थ्यो ।
सर्वाधिक महंगा खेलाडी
विराट कोहली पछिल्लो दशकका उत्कृष्ट खेलाडी हुन् । उनले दशककै आइसीसी उत्कृष्ट खेलाडीको अवार्ड समेत जिते ।
टी ट्वान्टी, एकदिवसीय र टेस्ट क्रिकेटमा एकैनासको प्रदर्शन गर्ने विराट एक्ला क्रिकेटर हुन् । त्यही भएर पनि उनले १० वर्षमा २०,००० रन बनाएर दशककै उत्कृष्ट क्रिकेटर बन्ने सफलता पाए ।
सन् २०१७ देखि विराट कोहली आइपीएलकै सर्वाधिक पारिश्रमिक लिने महंगा एक्ला खेलाडी हुन् । उनी बेंग्लोरबाट खेलेबापत १७ करोड भारतीय रुपैयाँभन्दा बढी लिन्छन् ।
उनको तुलनामा धोनी, रोहित शर्मा लगायत कप्तानको पारिश्रमिक निकै कम छ । यसकारण पनि विराटले आइपीएलमा आफ्नो बर्चश्व बनाए । यो उनको लोभलाग्दो सफलता हो ।
उनको टिमले आइपीएल जित्न नसकेपनि उनी सँधै चर्चामा रहे । हरेक सिजन उनले उत्कृष्ट खेले । उत्कृष्ट प्रदर्शन गरे । त्यही भएर उनी बेंग्लोरको कप्तानी बनिरहे ।
बेंग्लोरबाट उदाएका विराट विश्व क्रिकेटमै आधुनिक क्रिकेटको राजाका हिसाबले राज गरिरहेका छन् । उनी विश्वमा धेरै रुचाइने क्रिकेटरमा पर्छन् । सचिन तेन्दुलकरपछि उनी विश्वका सबैभन्दा सफल र उत्कृष्ट क्रिकेटरमा गनिन्छन् ।
उपाधि खडेरीले छाडे कप्तानी
यस वर्षको युएईमा दोस्रो लेगको आइपीएल सुरु नहुँदै विराटले एक अनौठो घोषणा गरे । उनले आइपीएलमा बेंग्लोर र भारतीय टी ट्वान्टी क्रिकेटको कप्तानी छाड्ने घोषणा गरे ।
सोमबार राती कोलकत्तासँग इलिमिनेटरमा पराजित भएर प्रतियोगिताबाट बाहिरिएसँगै विराटको कप्तानी समाप्त भएको छ । लगातार ९ वर्ष बेंग्लोरको कप्तानी गरेपनि टिमलाई उपाधि दिलाउन नसक्दा उनले राजीनामा दिएका हुन् ।
सुरुमा उनले टी ट्वान्टी क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका थिए । उनले विश्वकपपछि टी ट्वान्टीको कप्तानी छाड्ने बताएका थिए । त्यसलगत्तै उनले आइपीएलको पनि कप्तानी छाड्ने घोषणा गरिदिए ।
टी ट्वान्टी क्रिकेटमा विराट कोहली नम्बर एक ब्याट्सम्यान भएदेखि नै उनलाई आधुनिक क्रिकेटका राजाका हिसाबले चिन्ने गरिन्छ । खासगरी उनी आक्रामक ब्याटिंग गरेर टिमलाई जिताउन माहिर मानिन्छन् ।
सन् २०१६ मा उत्कृष्ट फर्ममा रहेर टिमलाई फाइनल पुर्याएपनि हैदरावादसँग पराजित भएयता बेंग्लोर फाइनल पुगेको छैन ।
सोही दबाबका कारण उनलाई कप्तानी छाड्नुपर्ने भनिदै आएको थियो । तर यसपटक उनी आफैले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।
टी ट्वान्टी क्रिकेटको सबैभन्दा आकर्षण मानिने आइपीएलमा कप्तानी छाडेसँगै विराट कोहलीको युग कम्तीमा आइपीएलका लागि समाप्त भएको छ । ब्याटमा उनको जादुयी प्रदर्शन आगामी दिनमा देखिने भएपनि कप्तानीमा उनको आक्रामक र रिसालु रुप भने देख्न अब असम्भव छ ।