सिमकोट : हिमाली जिल्ला हुम्लामा थलहाल्नबाट दसैंको फूलपाती भित्र्याउने कार्य भएको छ । बिहानै गएको पुजारीसहितको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राई नेतृत्वको टोलीले एक घण्टा टाढा पुगेर पुजापाठ तथा बोकोको बली चढाएर फूलपाती भित्र्याउने कार्य गरेको हो ।

सहायक प्रजिअ राईले धार्मिक रुपमा पहिलेबाटै थलहाल्नमा दसैँको अवसरमा पुजारीले तयार पारेको फूलपाती, पुजापाठसहित कार्यालयमा भित्र्याउने कार्य भएको जानकारी दिए ।
.JPG)
विधि पूर्वक फूलपाती भित्र्याउने कार्य एक घण्टा टाढाको स्थानमा पुगेर सुरक्षा निकायका प्रमुखसहितको टोलीले ल्याएको हो । उक्त स्थानमा पुजारीले दुर्गादेवीको पुजापाठ, बोकोको बली चढाउने, र तोप पड्काउने कार्य समेत भएको थियो ।

फूलपाती भित्र्याउने काममा यस पटक बाजा भने, बजाइएको थिएन । यद्यपी सुरक्षा निकायहरुले ब्याण्डबाजा भने बजाएका थिए । थलहाल्नबाट सुरक्षा निकायले बोकर ल्याएको फुलपाती जिल्ला प्रशासन, सशस्त्र प्रहरी बल गुल्म, बराह दल गुल्म रानी बन देवीको मन्दिरमा लगेर राखिएको थियो ।

सुरक्षा निकाय बाहेक अन्य कसैको पनि फूलपाती भित्र्याउने कार्यमा सहभागिता रहेको थिएन । कार्यक्रममा सहायक प्रजिअ राई गुल्मपति गणेश खड्का, प्रहरी नायब उपरिक्षक हेरम्भ शर्मा, सशस्त्र प्रहरी नायव उपरिक्षक गेहेन्द्र भण्डारी लगायत सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
