खलंगा : पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महत भन्छन्, ‘यस वर्षमा दसैंका लागि जुम्ला भित्रिएका भेडा –साँढको मूल्य १६ हजारदेखि ४५ हजारसम्म पर्ने गरेको हो । भेडा बाजुरा, जाजरकोट लगायत विभिन्न जिल्लाबाट जुम्ला ल्याइएका दसैँका लागि भेडा साँढ ल्याइएको थियो । दसैं सुरु भइसक्दा खलंगामा भेडा तथा साँढ आपूर्ति गर्न सरकारी निकाय कुनै जुटेका थिएनन् । अहिले भेडाको मूल्य ३० देखि ४० प्रतिशतका दर बढेको हो । त्यसैले बाहिर जिल्लाबाट ल्याइएका भेडाको मूल्य १६ हजारदेखि ४५ हजारसम्म पर्ने गरेको हो ।’
जुम्लाका भेडा व्यापारी प्रेम कार्कीका अनुसार, यस वर्ष जुम्लामा ल्याइएका भेडा बाजुराका हुन् । उनले भने, ‘यस पटक जुम्लामा भेडा नपाएपछि भेडा ल्याउन बाजुरामा पुगेका हौं । जुम्लामा मासुको माग बढ्दै गएको छ । अहिले जुम्लामा एक किलो मासुको एक हजार रुपैया पर्न थालेको छ ।’
कर्णाली सरकारले पनि जुम्लालाई मासु र दुधमा आत्मनिर्भर बनाउनका लागि विभिन्न अनुदानका कार्यक्रम दिँदै आएको छ । तर, र सरकारी रकममाथि अरुकै भेडा देखाएर अनुदान खाने प्रवृत्तिका कारण भेडा उत्पादन अनुसार वृद्धि नभएको नागरिक समाजका अगुवा राजबहादुर महतले बताए । ‘सरकारले अनुदान दिन्छ, त्यसपछि अनुगमन हुदैन । सरकारले दिने अनुदानका कार्यक्रममा निगरानी हुन जरुरी छ’ महतले भने ।
यता, व्यवसायीलाई ढुवानी मापदण्ड पालना गरेर खसी ओसारपसार गर्न, मूल्य अनियन्त्रित नगर्न समेत निर्देशन दिने निकाय नै बेखबर भएपछि यस वर्ष भेडाको मुल्य बढेको स्थानीय भैरबहादुर कठायतले बताए । उनले भने, ‘जुम्लामा भित्रिएका यस वर्षका भेडा सामान्य नागरिकले किन्न सक्ने अवस्था छैन । । कोरोनाका कारण गत वर्षदेखि कामकाज छैन । भेडा मात्रै नभइ अन्य महँगीका कारण दसैं-तिहार यसै जाने त होला ।’ यसअघि २० हजारमै पाइने भेडाको मुल्य ४५ हजार पर्ने गरेको उनले बताए ।
जुम्लामा फूलपातीको दिनमा धेरै मात्रमा भेडा बिक्री हुने गर्छन । जुम्लामा भित्रिएका भेडाको महँगी र स्वास्थ्य परिक्षण नभएको पाइएको छ । यस विषयमा चन्दननाथ नगरपालिकामा रहेको पशु शाखाले बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन । भेडाको मूल्य सम्बन्धी शाखा बेखबर बनेको हो । अहिले नगर भित्र कति भेडा भित्रिए तथ्यांक समेत गरेको छैन ।