सुर्खेत : गएको शनिबार सुर्खेतदेखि कालिकोटका लागि छुटेको बस दैलेखको दरबारेभीरमा दुर्घटना भयो । एक जनाको घटनास्थलमै मृत्यु भयो । झण्डै दर्जन यात्रु घाइते भए ।
राती पौने ८ बजेको समयमा बसको ब्रेक फेल भएर सडकमै अनियन्त्रित भएर दुर्घटना भएको थियो । चालकको संयमताले बस ठूलो दुर्घटनाबाट जोगियो ।
यदि कर्णाली नदीमा त्यो बस खसेको भए मुगु बस दुर्घटना अगावै ठूलो शोकधुन दैलेखबाट सुनिने थियो । तर ठूलो दुर्घटना हुन पाएन । जुन दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सुर्खेतको सबैभन्दा ठूलो लापरबाही थियो ।
बसमा सिट क्षमताभन्दा धेरै यात्रु थिए । बस पुरानो थियो । निकै पुरानो । धेरै यात्रु चढेको बसमा केही समय त बस मालिकले मदिराकै तालमा बस गुडाएका थिए ।
सुर्खेतको गिरीघाटदेखि दैलेखको दरबारे भिरसम्म पाँच पटक बस दुर्घटनाबाट बचेको थियो । पुरानो बस भएका कारण गिरीघाटमा स्टार्ट बन्द भएको थियो भने बड्डीचौरबाट टायर पन्चर्ड हुन सुरु भएको थियो ।
बस दुर्घटनास्थलसम्म पुग्दा तीन पटक टायर पन्चर भएको थियो । पन्चर टायरकै भरमा बस गुडाइएको थियो । तर सुर्खेतदेखि दैलेखसम्म ट्राफिक प्रहरीले आँखा चिम्लिदा दरबारेभीरमा दुर्घटित बसका एक जना वृद्ध यात्रुले ज्यान गुमाउनुपर्यो ।
यस्तै मंगलबार नेपालगञ्जदेखि गमगढीका लागि छुटेको बस मुगुको पिनागाउँमा दुर्घटना भयो । ३२ जनाको एकै चिहान भयो । १५ जना जति घाइते छन् ।
नेपालगञ्जबाट हिँडेको त्यो बसमा पनि सिट क्षमताभन्दा धेरै यात्रु रहेको मुगुका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले सिट क्षमताभन्दा धेरै यात्रुका कारण बस दुर्घटना भएको बताएका हुन् । मुगु जाने बाटो निकै साँघुरो भएका कारण समस्या धेरै छ ।
ठूलो बस यो बाटोमा गुड्न मुश्किल पर्छ । ३० देखि ४० यात्रु अट्ने मिनिसब मात्रै यो बाटोमा हिड्न सक्छ । तर त्यही बाटोमा ४५ यात्रु लिएर हिडेको बस पिनागाउँमा दुर्घटना हुँदा ३२ जना युवा तथा विद्यार्थीको ज्यान लियो ।
नेपालगञ्जदेखि आएको सो बस सुर्खेतमा राम्ररी जाँच हुन पाएको भए सायद दुर्घटनाबाट बच्न सक्थ्यो । दसैंको मुखमा कोही दशा लाग्ने अवस्थामा पुग्ने थिएनन् ।
तर जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो घटनामा पनि पुरै आँखा चिम्लियो । प्रहरीका अनुसार नेपालगञ्जदेखि सुर्खेतमा प्रवेश हुँदा यो बसमा ३४ यात्रु रहेको बताइन्छ ।
यो एकिन हो वा होइन ? तर ट्राफिक प्रहरीले राम्ररी जाँच गरेर गाडी पठाएको भए आज कर्णाली राजमार्ग मृत्युमार्गका रुपमा बदनाम हुनु पर्ने थिएन ।
यस विषयमा हामीले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उपेन्ँद्रप्रसाद आचार्यसँग पनि कुराकानी गर्यौ । उनले बस दुर्घटना हुनुमा ओभरलोड मात्रै कारक नहुने बताए ।
प्राविधिक कारणले पनि बस दुर्घटना भएका भन्दै उनले जाँचमा कडाई नभएको आरोप अस्वीकार गरे । दसैंलक्षित जाँच १५ दिनअघि नै लागू गरिएको भन्दै उनले ट्राफिक प्रहरीबाट गल्ती नभएको जिकिर गरे ।
दैलेख बस दुर्घटनामा ट्राफिकको लापरबाही र बेवास्ताबारेमा पनि उनले गैरजिम्मेवार जवाफ दिए । समयमै जाँच नगर्दा र पटक पटक ट्राफिक प्रहरीको हातमा व्यवस्थित यातायात सञ्चालन गर्ने अधिकार हुँदा पनि त्यसलाई बेवास्ता गरिएको छ ।
जिल्ला ट्राफिक प्रमुख आचार्यले कर्णालीखबरसँगको कुराकानीमा भने, 'हामीले धेरै कडा जाँच गर्यौ भनेर धेरैको गुनासो आएको छ । जाँच भएन भन्ने कुरा गलत हो । जहाँसम्म दुर्घटनाको कुरा छ, त्यो प्राविधिक कारणले हुने दुर्घटना हो । ओभरलोड हुने कुरा जाँचमा देखिदैन । बीच बाटोमा यात्रु हालिन्छ । त्यसले दुर्घटना निम्तिएको हो ।'
उनले आफ्नो बचाउका लागि जवाफ दिएपनि कर्णाली राजमार्गको प्रवेशद्धार सुर्खेतदेखि नै ट्राफिक जाँच कडाई र्छैन । प्रहरी चोकपोस्टमा यात्रु झार्ने र केही परबाट चढाउने बस व्यवसायीको सिण्डिकेटविरुद्ध पनि प्रहरी लम्पसार छ ।
जसकारण सर्वसाधारण नागरिकले ज्यान गुमाउनु परिरहेको छ । तर पछिल्ला घटनालाई नियाल्ने हो भने ट्राफिक प्रहरीले आफ्नो बर्दीमा ड्युटी पुरा गरेजस्तो मात्रै गर्दा नागरिकको ज्यान जोगाउने गरी दुर्घटना न्युनिकरणमा पुरै बेवास्ता गरेको छ ।
त्यसमाथि पत्रकारकै हेल्मेट उठाएर सुर्खेतमा कार्यभार सम्हालेका ट्राफिक प्रहरी प्रमुख आचार्यको अचाक्ली व्यवहारले सुर्खेत लगायत कर्णालीमा दुर्घटना घट्ने होइन, झन बढ्ने निश्चित छ ।
र, यो पनि....