चितवन, २ जेठ । कोरोना भाइरसको त्रास बढेसँगै चितवनका स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ । जिल्लामा रहेका विभिन्न चोकमा सुरक्षाकर्मी बस्नुका साथै सवारीसाधन आवागमनलाई समेत रोकेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार नारायणी पुलबाट एक प्रदेशसभा सदस्यलाई समेत फिर्ता गरिएको छ । सवारी अनुमतिपत्र नलिई आएका उनलाई सम्झाएर पठाइएको हो । उनले भने, ‘अत्यावश्यक बाहेक कसैलाई पनि जिल्ला छिर्न दिइएको छैन ।’
यसै जिल्ला हुँदै राजधानी प्रवेश र बाहिरिनेको संख्या बढी हुने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार भीडभाड नगरी बैंक सञ्चालन गर्न दिइएको छ । भीड भएका बैंक तत्काल वन्द गर्न लगाइएको छ ।
दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मी र पत्रकारका सवारी साधन चलेका छन् । औषधि, दूूध, तरकारी र खाद्यान्न ढुवानीका सवारीसाधनलाई मात्र चल्न दिइएको उनले जानकारी दिए ।
यससँगै स्थानीय प्रशासनले अनुगमनमा तीव्रता दिएको छ । अटेर गर्नेलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका नायब प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार बिहीबार बिना अनुमति हिंडडुल गर्ने ३८ सवारी साधन र १५ जनालाई नियन्त्रणमा लिइएको थियो । व्यक्तिहरुलाई छाडिएको छ भने सवारी साधन प्रहरीले राखेको छ । लकडाउन शुरु भएयता जिल्लामा एक हजार १८८ सवारी साधन नियन्त्रणमा लिइ कारवाही गरिएको छ ।
भाटभटेनीलाई जरिवाना
लकडाउनको मौका छोपी कालोबजारी गरेको अभियोगमा यहाँको भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले रु एक हजार जरिवाना र एक महिना कैदको सजाय सुनाएको छ ।
उपभोक्ताको गुनासोपछि प्रशासनले गरेको अनुगमनका क्रममा भाटभटेनीले प्रचलित मूल्यभन्दा बढीमा सामग्री बेचेको भेटिएको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार तरकारीमा बजारको प्रचलित मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई कारवाही गरिएको हो । भाटभटेनीका तर्फबाट भरतपुरका व्यवस्थापक जमुना गुरुङलाई सो सजाय सुनाइएको थियो । निज गुरुङले कैद बराबरको जरिवाना रकम तिरेर छुटेको उनले जानकारी दिए ।
यसैगरी रत्ननगरमा रहेको पौडेल पुस्तक महलका सञ्चालक हरिनारायण उपाध्यायलाई बढी मूल्यमा पुस्तक बेचेपछि एक महिना कैद र रु एक हजार जरिवाना गरिएको छ । निजले पनि कैदवापतको जरिवाना तिरी रिहा भएको प्रशासनले जनाएको छ ।
यस्तै महङ्गो मूल्यमा फलफूल बिक्री गर्ने चार व्यवसायीलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा काठमाडौं फ्रुड्स र आचार्य फ्रुड्स नारायणगढलाई रु २५–२५ हजार र हिमालय फ्रुड्स तथा सुभम फ्रुड्सलाई रु १० हजार धरौटी तोकिएको उनले जानकारी दिए ।
बजार अनुगमनका क्रममा उनीहरुले उपभोक्तालाई बजार मूल्यभन्दा महङ्गो मूल्यमा बिक्री गरेको पाइएपछि धरौटी तोकी तारेखमा छाडिएको सिम्खडाले बताए ।
उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(५) बमोजिम कारवाही गरिएको उनले जानकारी दिए । लकडाउनको मौका छोपी महङ्गोमा सामान बिक्री गर्नेलाई स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने काम गरिरहेको छ ।