दसैंको चटारोमा काठमाडौँका सबै सांसद गाउँ पुगेका छन् । दसैंको टीका लगाउने सांसद घरमै पुगेका छन् । दसैं नभएका सांसद कार्यकर्तासँग भेटघाट गर्न भएपनि आफ्नो निर्वाचन क्षेत्रमा छन् । वर्षदिनमा एकपटक आउने यो चाडबाडलाई पनि नेता तथा सांसदहरु भोटरहरुलाई आफ्नो पकडमा राखिरहन गाउँघर पुग्ने गर्छन् । तर कर्णालीको कथाव्यथा यतिबेला फरक छ । मुगुको पिनागाउँमा भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गएपछि यतिबेला कर्णाली प्रदेश नै शोकमा छ । त्यसमाथि पिना गाउँकै प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद गोपाल बम झन् ठूलो शोकमा छन् । आफ्नै गाउँका ३२ जना बस दुर्घटनामा परेर एकै चिहान भएपछि उनी गाउँलेको शोकमा परेका हुन् । दसैंमा घर जाने सुर कसेका बेला बस दुर्घटना भएपछि उनी हतासमा मुगु पुगेका छन् । मंगलबार भएको बस दुर्घटनाका मृत्तकको बुधबार र बिहीबार अन्येष्टि गर्दा उनी पनि सहभागी भए । सारा गाउँले आफन्त बितेर शोक मनाइरहेका बेला उनलाई यो दसैं दशाजस्तै बनेको छ । प्रस्तुत छ, प्रतिनिधिसभा सांसद बमसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंशः
दसैं मनाउने तयारी धुमधामका साथ सुरु भइसक्यो होला ?
म यतिबेला धुमधामका साथ दसैं मनाउने भन्दा पनि मेरै गाउँमा भएको बस दुर्घटनाका मृत्तकको अन्त्येष्टिमा सहभागि छु । आफ्नै गाउँमा नसोचेको दुर्घटना हुँदा मर्माहत छु । दसैं मनाउन घर आएका युवा, विद्यार्थी र अरु मानिस यसरी दुर्घटनामा परेर ज्यान गुमाए । साह्रै दुःख र चिन्ता लागिरहेको छ ।
दुर्घटना कसरी भएको रहेछ ?
मैले घाइतेको कुरा सुन्दा अगाडिको दायातिरको टायर पन्चर भएर दुर्घटना भएको रहेछ । ठूलो आवाजमा पहिला टायर पन्चर भयो । त्यसपछि दुर्घटना भैहाल्यो । टायर पन्चरलगत्तै पिनागाउँको तपनेखोलामा बस खसेको हो । सडकमै खनिएको भीरबाट खसेको बसमा बाच्ने सम्भावना एकदमै कम हुन्छ । त्यही टायर पन्चर भएका कारण बस दुर्घटना भएको हो । यसलाई प्राविधिक कारणले दुर्घटना भएको मानिन्छ ।
दुर्घटनाको मुख्य कारण कच्ची सडक होइन र ?
सडक मात्रै कारण होइन । यो प्राविधिक कारण नै दुर्घटना भएको हो । दिनमा सयौँ गाडी ओहोरदोहोर गर्छन । ती गाडी दुर्घटना हुँदैनन् । यो गाडी मात्रै दुर्घटना हुनु भनेको प्राविधिक कारण हो । धेरै यात्रु भएका कारण टायरलाई बढी भार पर्दा पन्चर भएको हुन सक्छ । तर सडकलाई मात्रै दोष दिएर हुँदैन ।
तर वर्षौदेखि तपाईहरुले सडक राम्रो नबनाई दिएको त हो नि ?
सडक हामीले बनाउन सकेनौँ । प्रदेश सरकारले सडक बनाउन पहल गर्नुपर्ने हो । संघीय सरकारले सडक बनाउने काम गर्नुपर्ने हो । तर सडक बनाउन कसैले पहल गरेनन् । वर्षौदेखिको कच्ची सडक छ । सडकमा सयौँ गाडी हिड्छन् । साँघुरो सडकमा ज्यानको आश मारेर यात्रु यात्रा गर्छन । तर प्रदेश र केन्द्रीय सरकारले सडक राम्रोसँग नबनाउँदा आज यो अवस्था आएको हो । अब प्रदेश सरकारले सडक बनाउने प्रतिबद्धता गर्नुपर्छ ।
अब वर्षेनी यस्तै जनता मारिरहने कि सडक पनि बनाउने तपाईहरुले ?
यो नेतालाई मात्रै दोष दिने कुरा होइन । बस चलाउने चालक सबैभन्दा पहिला सजक हुनुपर्छ । गाडी चलाउनुपूर्व गाडीको अवस्था जाँच हुनुपर्छ । बाटोको अवस्था हेरेर यात्रु चढ्ने र बसले हाल्नुपर्छ । सबैभन्दा ठूलो कुरा ट्राफिकले चेक जाँच कडा गर्नुपर्छ । यो देखावटी जाँच गरेर हुँदैन । धेरै यात्रु भए झारेर अर्को गाडीमा पठाउनुपर्छ । अब हामी नेता पनि होशियार हुनुपर्छ । प्रदेश सरकारले तत्कालै सडक बनाउने पहल थाल्नुपर्छ । अनि मात्रै दुर्घटना न्युनिकरण हुन सक्छ ।