आज हरेकका घरमा दसैं छ । हरेकका घरमा खुशियाली छ । सबैका निधारमा टीका नहोलान् । सबैका कानमा जमरा नपर्लान् । तर निधारमा टीका र कानमा जमरा लगाएको एकथान फोटो सबैसँग छ ।
मुगु बस दुर्घटनाले सिंगो कर्णाली शोकमा छ । एकथान फोटोमा भएका ३२ जनाले सँधैका लागि ज्यान गुमाए । सँधैका लागि बिदा भए । यस वर्षको दसैं मनाउन उनीहरु गाउँ फर्किदै थिए ।
गाउँ पुगेपनि घर नपुग्दै उनीहरुको बाटोमै प्राणपखेरु उड्यो । धेरेले ऐया भन्न पाएनन् । मरे भन्न पनि पाएनन् । घटनास्थलमै ज्यान गुमाएकाहरुको शव मात्रै भेटियो । सास भेटिएन ।
सास भेटिएकाहरुलाई हतार हतार अस्पताल पुर्याइएपनि केहीले बाटैमा ज्यान गुमाए । आज दसैंका दिन सिंगो मुगु जिल्ला शोकमा छ । ज्यान गुमाएका सबै घर परिवारमा शोक धुन छ । रातो कपडा लगाएर दसैं मनाउनुपर्ने बेला सेतो कपडा लगाएर कोरा बस्नु परेको छ ।
घाइतेहरु अस्पतालमा छन् । उनीहरुले जेनतेन दसैं मनाउलान । तर आफन्तको बिचल्ली भएको छ । दुर्घटनामा ज्यान गुमाएका आफन्त बढी शोकमा छन् । उनीहरु दसैं मनाउने तयारीमा थिए । तर आफ्नाहरुको मलामी जानुपर्यो ।
बस दुर्घटना एउटा संयोगवसको दुर्घटना हो । बाटो एउटै हो । सबै यात्री र गाडी गन्तव्यमा पुग्दैनन् । साहित्यका लागि यो कुरा एउटा सत्य मानिएला । तर कर्णाली राजमार्गमा वर्षेनी यसरी सयौंले ज्यान गुमाइरहेका छन् ।
यस्तै बढ्दो दुर्घटनाले कर्णाली राजमार्गलाई मृत्युमार्गको संज्ञा दिइएको छ । वर्षेनी मात्रै होइन, महिनैपिच्छे कर्णाली राजमार्गमा मान्छेको मृत्यु भइरहन्छ । कर्णालीबाट दर्जनौँ ठूलो नेता छन् । त्यत्तिकै सांसद छन् । अहिले गाउँ गाउँमा सिंहदरबार छ । गाउँ गाउँमा जनप्रतिनिधि छन् ।
कर्णालीका जिल्ला जिल्लामा नेता र जनप्रतिनिधि छन् । तर पनि कर्णाली राजमार्गको हालत उस्तै छ । बाटो उस्तै छ । नेताहरु चिल्ला गाडी, दक्ष ड्राइभरका साथ यात्रा गर्छन् ।
ठूला नेता, मन्त्री र मुख्यमन्त्री हेलिकोप्टर चढ्छन् । उनीहरुलाई कम्तीमा सत्तामा बसेका बेला कर्णाली राजमार्ग मृत्युमार्ग बनिरहेको याद छैन ।
तर जसले नेतालाई सांसद र मन्त्री बनायो । मन्त्रीले मुख्यमन्त्री बनाइरहे । आज तिनैलाई शोक छ । दसैंका दिन रातो टीका र जमरामा सजिने मन भएपनि मुगाली जनताको घरमा बत्ती निभेको छ । आफन्त गुमेको छ । दसैं दशा बनेको छ ।
त्यसैले दसैंको सबैलाई शुभकामना छ । तर नबिर्सौ, यसपटक पनि मृत्युमार्ग ब्युताएको मुगु बस दुर्घटना ।
दसैं मनाउने सबैलाई रातो टीका र जमराको शुभकामना । कोभिड, भवितव्य र बस दुर्घटनामा ज्यान गुमाएकालाई श्रद्धाञ्जली । आफन्तजनमा हार्दिक समवेदना ।
यस वर्षको दसैं यस्तै भएपनि आउँदो वर्षको दसैं दशा नबनोस् ।