(कर्णाली राजमार्ग बनेदेखि नै विवाद र बहसमा छ । वर्षैपिच्छे गाडी दुर्घटनामा परेर सयौंले ज्यान गुमाएका कारण कर्णाली राजमार्गलाई मृत्युमार्ग पनि भन्ने गरिन्छ । पछिल्लो मुगु बस दुर्घटनामा ३२ जनाको ज्यान गएपछि कर्णालीमा मृत्युमार्ग बहस फेरि ब्युतिएको छ । सोही कारण कर्णाली राजमार्गका सवल र दुर्वल पक्षको विश्लेषण गर्दै यसको गहिराईमा पुग्ने गरी मृत्युमार्ग श्रृंखला सुरुवात गरिएको हो । यो श्रृंखलामा कर्णाली राजमार्गमा भएका दुर्घटना, दुर्घटनाका कारण र यसले कर्णालीको जनजीवनलाई पारेको असरका विविध पक्ष समेटिनेछन् : सम्पादक)
काठमाडौँ : नेपालमा लोकतन्त्र स्थापनाकै सालदेखि कर्णाली राजमार्ग सञ्चालन भयो । सुर्खेतदेखि जुम्लासम्मको २३२ किलोमीटरलाई तत्कालिन समयमा कर्णाली राजमार्ग भनिएको हो ।
२०६३ सालदेखि निर्माण भएर सञ्चालनमा आएको सडक गाडी गुड्न मिल्ने मात्रै भयो । तर यात्रुसहितको गाडी सँधै जोखिममा रहने भइरह्यो । तर गाडी चल्ने भनेदेखि त्यतिबेला कर्णाली राजमार्गका विषयमा गीत नै गाएर खुशियाली मनाइयो ।
त्यतिबेला गायक मिलन लामाले बाटो खुल्यो, मोटर चल्यो जुम्ला कालिकोटको भन्दै कर्णाली राजमार्गका विषयमा गीत बनाएर गाएका थिए ।
नेपाली सेनाले द्धन्द्धको समयमा पनि माओवादीसँग लड्ने चुनौति पन्छाएर सडक निर्माणकै काम पाएको थियो । जसकारण उसले वर्षौ लगाएर सुर्खेतदेखि जुम्लासम्म सडक निर्माण गरेरै छाड्यो ।
सडक निर्माण गर्ने क्रममै कालिकोटको पिलीमा रहेको नेपाली सेनाको ब्यारेकमा तत्कालिन माओवादीका सेनाले आक्रमण गर्दा संयौले ज्यान गुमाएका थिए । त्यस्तो कठोर समयमा पनि सेनाले सडक निर्माण गर्न छाडेन । कालिकोटदेखि जुम्लासम्म सडक पुर्र्याईछाड्यो ।
तत्कालिन सरकारले सडक निर्माणका लागि बजेट छुट्याएपनि पहिलो संविधानसभामा माओवादीले कर्णाली राजमार्ग निर्माणको जस लिन सफल भयो । यो उसको चुनावी रणनीति थिएन । वास्तविकता पनि होइन । तर आधार इलाका नै कर्णाली भएकाले राजमार्ग बनेपछि त्यो माओवादीले गर्दा आएको हो भन्ने भ्रम कर्णालीबासीमा रह्यो ।
कहाँ कस्तो छ सडक ?
सुर्खेतदेखि सुरु हुने कर्णाली राजमार्गको अवस्था दैलेखको तल्लो डुंगेश्वरसम्म मात्रै सहज छ । बांगेसिमलदेखि बड्डीचौरसम्म पूर्ण रुपमा पीच सडक छ । बड्डीचौरदेखि तल्लो डुंगेश्वरसम्म धेरै ठाउँमा पीच छ । भिरालो र निकै अफ्ठ्यारो ठाउँमा भने कच्ची नै छ ।
सडक कच्ची भएकै कारण धेरै ठाउँमा सुख्खा पहिरो जाने भइरहन्छ । सोही कारण यो बाटो वर्षामा मात्रै होइन, हिउँदमा पनि सुख्खा पहिरोका कारण उत्तिकै जोखिमपूर्ण मानिन्छ ।
दैलेखमा कर्णाली राजमार्गको यस्तो अवस्था तल्लो डुंगेश्वरदेखि राकम कर्णालीसम्म छ । जहाँ पाइला पाइलामा समस्या झेल्दै अगाडि बढ्नुपर्छ । ठूलो भीर कोतरेर बनाइइएको सडकमा गाडी चढेका हरेक यात्रु कतिबेला कर्णाली नदीमा डुब्नुपर्छ भन्ने कुरामा सचेत हुन्छन् ।
तर जति सचेत भएपनि गन्तव्यमा पुर्याउने जिम्मा चालक र गाडीको अवस्थामा भर पर्छ । जहाँ अलिकति पनि गडबडी भएमा सोझै कर्णाली नदीमा मृत्यु समाहित हुन्छ ।
राकम कर्णालीदेखि कालिकोटको सीमानासम्मको बाटोको अवस्था झन डरलाग्दो छ । भिरालो बाटोमा सडक पीच त देखिन्छ । तर अलिकति पनि संयम गुमाउँदा ज्यान नै जाने जोखिम हुन्छ ।
कालिकोट र दैलेखको सीमा नजिक पर्ने किट्टु भीरमा सबैभन्दा सकसको अवस्था छ । चट्टान पूर्ण रुपमा नकाटेरै निर्माण गरिएको सो सडकमा गाडी उछिट्टिएर दुर्घटना हुने गरेका छन् ।
यसअघि २०६६ सालमा किट्टु भीरमा भएको बस दुर्घटनामा ४१ जनाले ज्यान गुमाएका थिए । त्यही बस दुर्घटनाका साक्षी रहेका कालिकोटका गायक पाण्डव बिष्टले गीत नै निकालेका थिए ।
किट्टु भीरदेखि केही परबाट कालिकोटको सीमा सुरु हुन्छ । दैलेखभन्दा कालिकोटको बाटोमा केही पीच देखिन्छ । तर बाटो निकै असहज, अफ्ठ्यारो र चट्टान नै चट्टान छ । धेरै ठाउँमा पीच, केही ठाउँमा कच्ची र केही ठाउँमा ग्राभेलका कारण यात्रा चुनौतिपूर्ण हुन्छ ।
मान्मसम्मै बाटोको अवस्था यस्तै छ । संयमताका साथ गाडी चलाएका चालक र यात्रु गन्तव्यमा पुग्छन् । थोरै पनि संयमता गुमाएका चालकले गाडी भीर वा कर्णाली नदीमा खसाल्छन् ।
मान्मदेखि पिलीसम्मको बाटो धेरै ठाउँमा पीच छ । तर पिलीमै भने बाटोको अवस्था बिजोग छ । भिरालो बाटोमा पीच उप्किएका कारण सडकको अवस्था दुरावस्था बनेको हो ।
कालिकोटको नाग्म ट्रान्जिट
पिलीदेखि नाग्मसम्मको बाटो भने पीच नै देखिन्छ । तर धेरै ठाउँमा सडक भत्केको छ । पीच उप्किएको छ । भिरालो र केही खोला भएका कारण यात्रा सहजतामा केही असहजता पनि हुन्छ ।
कालिकोटको नाग्म पुगेपछि भने त्यहाँ पुल बन्दैछ । पुलको बायाबाट मुगु, रारा, गमगढी जाने बाटो छुट्टिन्छ । दायातिर लाग्यो भने कर्णाली राजमार्गकै जुम्ला खलंगासम्म पुगिन्छ ।
नाग्मदेखि खलंगासम्मको बाटो पूर्ण रुपमा पीच छ । तल तिला नदी देखिन्छ भने माथि हरियाली पाटन र सुन्दर फाट देखिन्छन् । ठूला भीर र पहाड त कर्णालीको विशेषता नै हो ।
नाग्मदेखि खलंगासम्म पुग्दा कर्णाली राजमार्ग हिँडेको महसुस हुँदैन । कुनै सुन्दर ठाउँको यात्रा गरिरहेको अनुभूति हुन्छ । नाग्मदेखि मुगु गमगढीको बाटो सुरु हुन्छ । रारा जाने बाटो पनि त्यही हो ।
हिमा नदीको किनारै किनारको भीरबाट कालिकोटको बाटो हुँदै गमगढीको यात्रा सुरु हुन्छ । नाग्मदेखि सिँजासम्म यो बाटो सहज छ । तर सिँजादेखि भुलभुलेसम्म भने पुरै भीर छ । भिरकै बाटो भएर भुलेभुले पुगिन्छ ।
जुम्लाको भुलभुलेदेखि केही माथि सैनिक ब्यारेक छ । त्यो ब्यारेकदेखि नै मुगुको सिमाना सुरु हुन्छ । त्यसपछि आउने सात घुम्तीबाट सुरु हुने सिमाना मुगुको सल्लेरीदेखि रारा र गमगढी जाने बाटो सुरु हुन्छ ।
ताल्चा विमानस्थल पुगेपछि एउटा बाटो रारा जान्छ भने ताल्चा विमानस्थबाट सोझै अगाडि बढ्दा मुगुको गमगढी पुगिन्छ ।
दसैंअघि गएको मंगलबार मुगुको पिनागाउँमा भएको बस दुर्घटना सात घुम्तीभन्दा केही अगाडिको पिनागाउँ तपनेखोलामा भएको हो ।
यो बाटो यति कठिन बाटो हो, जहाँ सानो गल्ती हुँदा पनि बस सडकबाट आँखाले देख्न नसकिने गरी तल खोला तथा खोल्सामा पुग्छ ।
मृत्युमार्गको बहस ब्युताउने दुर्घटना
मंगलबार तपनेखोलामा भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भयो भने १६ जना घाइते भए । नेपालगञ्जबाट ४५ यात्रु लिएर गमगढीका लागि छुटेको बस तपनेखोलानेर पुग्दा टायर पन्चर भएर दुर्घटना भएको थियो ।
चालकसहित ३२ जना यात्रुको मृत्यु हुँदा छायानाथ रारा नगरपालिकाका मात्रै २९ जना थिए । जसले गर्दा छायानाथ रारा नगरपालिका नगरपालिका शोकमा डुब्दा यसपाली मृत्तकका घरपरिवारको दसैं दशा बन्यो ।
मुगु पिनागाउँको तपनेखोला बस दुर्घटनाले कर्णाली राजमार्गको कहालीलाग्दो अवस्था र मृत्युमार्गको बहस ब्युताएको छ ।
मुगुका प्रतिनिधिसभा सांसद गोपाल बमले पिनागाउँबाटै भने, 'यो राजमार्ग होला । नाग्मदेखि गमगढीसम्म सडकखण्ड भन्छन् । तर यो मृत्युमार्ग बनिरहेको छ । अब यो मृत्युमार्गदेखि हामी नेता पनि होशियार हुने बेला आएको छ ।'