काठमाडौं : प्रतिकुल मौसम ज्यादा गर्मी र ओसिलो, चिसो र तुषारो पर्ने तथा बढी वर्षा हुने मौसममा पनि प्रविधिहरुको प्रयोग गरी सामान्य मौसम भन्दा अगाडि र पछाडि बेर्ना तयार गरी बजारमा बाह्रै महिना तरकारीको उपलब्धता कायम गर्न तथा बढी फाइदा लिन सकिन्छ । बेमौसमी खेतीको लागि बेर्ना उत्पादन गर्न सकिन्छ ।
- प्लास्टिक थैलोमा बिउ रोपेर बेर्ना तयार गर्ने
- गमला, काठको बाकस, प्लास्टिक ट्रे आदिमा बिउ रोपेर बेर्ना तयार गर्ने
- प्लास्टिकको गुमोज वा टनेल बनाएर बेर्ना तयार गर्ने
- प्लास्टिक घर बनाएर बेर्ना तयार गर्ने
प्लास्टिक थैलामा बिउ रोपेर बेर्ना तयार गर्ने तरिका
यस तरिकामा प्लास्टिकको थैलामा माटोभरी बिउ रोपेर नर्सरी बेर्ना तयार गरिन्छ । बिउ रोप्ने आवश्यक आकारको प्लास्टिक थैलोमा आधा भन्दा तल्लो भागमा पानी निकासका लाग पाँचदेखि छ वटा प्वाल पार्नु पर्दछ । माटोलाई धुलो बनाइ त्यसमा भएका झारपात र ढुङ्गा छानेर निकाल्ने । चिमटाइलो माटो छ भने १ भागमामाटो, १ भागमा बालुवा र १ भागमा पाकेको कम्पोष्ट मल वा गोबर मल राखि मिश्रण तयार गर्नुपर्छ ।
माटो बलौटे छ भने बालुवा मिसाउनु पर्दैन । तयारी माटो÷मिश्रणलाई ‘४ गुणा ३’ साइजको प्लास्टिक थैलामा १ सेमी भाग माथिबाट खाली राखेर भर्ने । माटो भरिएको प्लास्टिक थैलामा २/२ दानाका दरले दुईदेखि तीन सेमीका गहिराइमा बिउहरु रोप्नु पर्दछ । यसरी राखी सकेपछि थैलाहरुमा परालले छोपी समय समयमा हजारीले पानी पटाउने गर्नु पर्दछ । बिउ उम्रन थालेपछि पराल हटाई दिनु पर्दछ ।
प्लास्टिक थैलाहरुलाई घाम, पानी तथा तुषारोबाट जोगाउन एक स्थानबाट अर्को स्थानमा सुरक्षित लैजान सकिन्छ । भने, प्लास्टिक थैलोमा रोपिएका बेर्ना उमार्नका लाग प्लास्टिकको गुमोज बनाएर पनि राख्न सकिन्छ । र, दिनको २ पटक माटोको अवस्था हेरी बेलुका पानी दिनु पर्छ । घाम लाग्दा प्लास्टिक उघारी दिने, पानी पर्दा र राती हुँदा छोपी दिने गर्नु पर्छ । यसरी रोपिएका बिउहरुबाट गर्मीको समयमा २० देखि २५ दिन र जाडोको समयमा ३० देखि ४५ दिनमा बेर्ना सार्न योग्य तयार हुन्छन् । यस तरिकामा लहरे बाली समूह जस्तै काँक्रो, फर्सी, करेला, घिरौंला, लौका, स्क्वास जस्ता बालीहरुको बेर्ना तयार गरिन्छ ।