काठमाडौँ : विश्वस्तरमा चिनिएका साइकलयात्री पुष्कर शाहले कर्णाली चिनाउने अभियानको सुरुवात गरेका छन् । गएको भदौ २५ गतेदेखि असोज २१ गतेसम्म उनले इलामको श्रीअन्तुदेखि मुगुको रारासम्म १८०० किलोमीटर साइकल यात्रा गरेका हुन् ।
इलामदेखि कर्णालीसम्मको पर्यटनको प्रचार प्रसार र प्रवद्र्धन गर्न उनले साइकल यात्रा सुरु गरेका हुन् ।
४० देखि ७० जनाको जम्बो टिम लिएर उनले पूर्वदेखि पश्चिमको साइकल यात्रा गर्दा कर्णालीलाई विशेष स्थान दिएका थिए । इलामदेखि धरान, धनकुटा, सिन्धुली, धादिंग, पोखरा, बागलुंग, प्युठान, दांग, रुकुम, जाजरकोट, सल्यानदेखि उनले कर्णालीसम्मको यात्रा गरेका हुन् ।
रुकुमदेखि सल्यानमा राउटे समूदायलाई भेटेर उनले विशेष चर्चा गरे । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका फोटोमा हेर्दा जंगली राजाका नामले चिनिएका राउटे कर्णालीमा मात्रै छन् ।
त्यसपछि उनी सुर्खेत पुगे । सुर्खेतका केही पर्यटकीयस्थलको पनि उनले चर्चा गरे । सुर्खेतमा हुँदा वीरेन्द्रनगर नगरपालिकाबाट उनी र उनको साइकल यात्राका टिमले सम्मान पाए । हौसला पाए ।
वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालबाट उनको साइकल टिमले सम्मान पाएको थियो ।
नेपाल साइकल उत्सव नारा दिएर साइकल यात्रा सुरु गरेका उनले दैलेख, कालिकोट, जुम्ला हुँदैँ रारासम्मको यात्रा गरेका हुन् ।
सुर्खेतपछि प्राय ठाउँमा उनले कर्णालीका स्थानीय तहबाट कुनै ठूलो सम्मान त पाएनन् । तर रारा पुग्दा उनले राराको होटल डाँफेबाट सञ्चालक तथा सांसद गोपाल बमबाट राहत पाए ।
होटलमा बस्दा उनले सबै बन्दोबस्त सांसद बमबाट व्यवस्थापन भएको महसुस गरे । यसले उनलाई कर्णाली चिनाउने हौसला दिएको छ ।
यसबाहेक उनले अरु केही ठाउँमा पनि सम्मान पाए । धेरै ठाउँमा हौसला पाए । केही ठाउँमा झन्झट व्यहोरे । अनि केही ठाउँमा जीन्दगीमै नपाएको पीडा पनि पाए । यसबारेमा उनले कर्णालीखबरसँग विस्तृत अनुभव राखेका छन् ।
यस वर्षदेखि कर्णाली चिनाउने अभियान थालेका उनले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने सोच बनाएका छन् ।
'हामीले खासगरी श्रीअन्तुबाट यात्रा थाल्दा कर्णाली चिनाउने मुख्य कुरा ध्यानमा राखेका थियौँ । कर्णालीको अद्भुत पर्यटन छ,' उनले कर्णालीखबरसँग भने, 'यसलाई चिनाउन हामीले सहयोगी भूमिका खेल्न सक्छौँ भनेर साइकल यात्रा थालेका हौँ । कर्णालीको पर्यटन चिनाउने र पर्यटकलाई कर्णाली घुमौ घुमौ सोच विकास गर्ने प्रयास छ ।'
कर्णालीका स्थानीय तह, प्रदेश सरकार र सरोकारवालाको साथ सहयोग पाए हरेक वर्ष श्रीअन्तुदेखि रारासम्म साइकल यात्रा गर्ने सोच रहेको पनि उनले बताए ।