खलंगा : यतिबेला जुम्लामा किसान मार्सी भित्र्याउने चटारोमा छन् । जुम्लाका आठ वटै स्थानीय तहमा मार्सी उत्पादन हुँदै आएको छ । मार्सी धान पाकेपछि काट्न भ्याइनभ्याइ भएको स्थानीय सन्देश कठायतले बताए ।
‘जुम्लाका सबै ठाउँमा कालीमार्सी पाकिसकेको छ । सबैले काट्न सुरु गरिसकेका छन्, ‘कठायत भन्छन्, ‘घटस्थापनाका दिन मार्सीधानको नुवागी खाने चलन छ । त्यसै दिनदेखि धान काट्नको लागि उपयुक्त मानिन्छ । काट्न सुरु हुने गरेको छ ।’ पहिलो वर्षभन्दा यो वर्ष धान कम उत्पादन भएको कठायतले बताए । यस वर्ष पानी धेरै परेका कारण धान उत्पादनमा कमी आएको किसानको अनुमान छ ।
जुम्लामा दसैं लगत्तै मार्सी भित्र्याउन सुरु हुन्छ । दुई हजार नौ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । उनका अनुसार एक हजार ४ सय हेक्टरमा कालीमार्सी र खैरो मार्सीको खेती हुने गरेको छ । भने, बाँकी एक हजार ५ सय हेक्टरमा उन्नत जातको धान खेती हुने गरेको छ ।
जुम्लामा मात्रै पाइने कालीमार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुणका कारण मार्सीको महत्व विश्व बजारमा छ । राणा शासनको बेला केन्द्रमा रहेका शासकका लागि जुम्ली मार्सी धानको चामल हुलाकमार्फत काठमाडौँ पुर्याउने गरेको जुम्ली सम्झिन्छन् । उनीहरु भन्छन्, ‘करिब सात सय वर्षअघि जुम्लीका देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बिउ ल्याएर लाछुज्युलाको गुरुफोक्टोमा धान खेतीको सुरुवात गरेका हुन् ।’
कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन ।
स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको हुने गरेको छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यो चामलको माग शहरबाट वर्षेनी बढेर आएको छ । जुम्लामा मार्सी चामलको मुल्य प्रतिकिलो एक सय ८० रुपैयासम्म पर्ने गरेको छ ।