सुर्खेत । सरकारले कर्णाली नदीमा पानीजहाज चलाउने घोषणा गरेको छ । आगामी आर्थिक बर्षमा कोशी, नारायणी र कर्णाली नदीमा सरकारले जलमार्ग सञ्चालन गर्ने घोषणा गरेको हो । अहिले नारायणी नदीमा चलाइएको जस्तै सानो आकारको पानी जहाज अर्थात 'जेटबोट' कर्णाली नदीमा पनि चलाउने सरकारको घोषणा छ ।
शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली नदीमा पनि भारतसँग जोड्ने जलमार्ग सञ्चालन गर्ने बताइन । उनले यसका लागि सम्भाव्यता अध्ययन गर्ने, निर्माण कार्य सुचारु गर्ने र आगामी बर्ष नै जेटबोट सञ्चालन गर्ने सरकारको योजना रहेको बताइन ।
यसका लागि कति बजेट छुट्याइएको छ ? भन्ने कुरा जेठ १५ गते आउने बजेट भाषणमा खुल्नेछ ।
यस्तै कर्णाली प्रदेशलाई आगामी पाँच बर्षभित्र झिलिमिली बनाइने भएको छ । कर्णालीका १० वटै जिल्लालाई विद्युतीकरण गरेर झिलिमिलि बनाइने सरकारको घोषणा छ । बाग्मति, प्रदेश २ र प्रदेश ५ लाई आउँदो बर्ष नै विद्यूतीकरण गर्ने भएपनि कर्णालीसहित बाँकी प्रदेशलाई पाँच बर्षभित्र विद्युतीकरण गर्ने सरकारको लक्ष्य छ ।
कर्णाली प्रदेशका केही जिल्लामात्रै अहिले बिजुली सेवा छ । शहर बजारमा बिजुली भएपनि गाउँमा भने बिजुली पुग्न सकेको छैन । यसका लागि नदी तथा खोलामा बिजुली उत्पादन गरेर भारतबाट आयात गर्ने बिजुलीको मात्रा घटाउने पनि सरकारको लक्ष्य छ ।
यस्तै सरकारले भेरी नदीको करिडोर निर्माणको कामलाई पनि अगाडी बढाउने भएको छ । कोशी, नारायणी र भेरी नदीमा करिडोर निर्माणको सम्भाव्यता अध्ययन, निर्माणको काम सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।