मान्म : कालीकोटमा तीन दिनदेखिको अविरल वर्षापछि गएको पहिरोले सोमबार राती घर भत्किँदा महाबै गाउँपालिका–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ । स्मृतीसँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी घाइते भएकी छिन् । विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी जेठी छोरी स्मृतिको घटनास्थलमै मृत्यु भएको डीएसपी चक्रबहादुर शाहले बताए ।

घाइते इशानीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पहिरोले सोही गाउँका अन्य ५ घर भत्किएका छन् । २५ घर जोखिममा छन् । जोखिममा रहेका २५ घर परिवारलाई सोमबार राति १२ बजे स्थानीय राम मावि राम्नी र स्वास्थ्य चौकीको भवनमा सारिएको प्रहरीले जनाएको छ । सोमबार रातिनै पादमघाट प्रहरी चौकी र सदरमुकाम मान्मबाट प्रहरी टोली घटनास्थल गएको प्रहरीले जनाएको छ । त्यहाँको गाउँ नै पहिरोको जोखिममा रहेको स्थानीयले बताएका छन् ।
सदरमुकाम मान्मका १३ घर जोखिमका
पहिरोले सदरमुकाम मान्मका १३ घर जोखिममा परेका छन् । भने, अविरल वर्षाले खाँडाचक्र नगरपालिका– १ मान्म बजारस्थित एलना मेडिकल हल रहेको पछाडिको पर्खाल भत्किँदा औषधिमा क्षति भएको छ । मान्म बजारको नाव गैराका १३ घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, ताडीबाट मान्म बजार आउने साकालामा ढुंगा नजिकै पुरानो बाटोमा पहिरो जाँदा आवागमन नै रोकिएको छ । त्यस्तै, वर्षाले कर्णाली नदीमा बाढी आउँदा कर्णाली करिडोर जोड्न जितेस्थित कर्णाली नदीमा रहेको फेरि बगाएको छ । फेरि बगाएपछि कर्णाली करिडोरमा गाडी लैजान कठिनाई हुने प्रजिअ कृष्णप्रसाद आचार्यले बताए ।
कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाले कर्णाली राजमार्ग अन्तरगत सुर्खेत जुम्ला सडकको ठाउँ–ठाउँमा पहिरो गएपछि राजगमार्ग अवरुद्ध भएको छ । राजमार्गको दैलेख पाल्ताडा, राकम, घट्टेखोला, दैखोला, कालीकोटको गगने, सेरि, सुनारखोला, मोल्फा, पिली सेरावाडालगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ ।