एजेन्सी : बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान पछिल्ला केही समयदेखि मुम्बईको आर्थर रोड जेलमा कैदीको रुपमा रहेका छन्।
आर्यन हालसम्म जमानत मिलेको छैन । उनलाई एनसीबीले २ अक्टोबरमा पक्राउ गरेको थियो । मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शिपमा हुने ड्रग्स पार्टीमा आर्यन खान समावेश हुँदै थिए । यसअघि क्रुज शिपमा एनसीबीले आर्यन खान, अरबाज मर्चेन्ट, मुनमुन धमेचासमेत ८ जनालाई पक्राउ गरेको थियो । यद्यपि, आर्यनबाट कुनै ड्रग्स पाइएको थिएन । बीजेपीसँग जोडिएका नेताले एनसीबीलाई क्रुजमा हुने ड्रग्स पार्टीको जानकारी दिएको बताइन्छ ।
गत अक्टोबर १४ मा सेशन्स कोर्टमा आर्यनको जमानत निवेदनमा सुनुवाई भएको थियो । जसमा कोर्टले एनसीबी र आर्यनको वकीलको बयान सुनेपछि फैसला सुरक्षित राख्दै अक्टोबर २० लाई अर्थात बुधबारलाई अन्तिम निर्णय सुनाउने उल्लेख गरेको छ ।
आर्यन यतिबेला आर्थर रोड जेलमा छन् । १४ अक्टोबरको सुनुवाईपछि न्यायाधीश वीवी पाटिलले जमानत याचिकामाथि आफ्नो निर्णय सुरक्षित गरेका थिए ।
यद्यपि शाहरुख र उनकी पत्नी गौरी आर्यनलाई जेलबाट रिहा गर्नका लागि कुनै कसर बाँकी राखेका छैनन् । आर्यन मामलाका कारण शाहरुखको फ्यानको आकर्षण बनिरहेको उनको घर मन्नत वरपर सन्नाटा छाएको छ । किनकी यो घटनाका कारण शाहरुखका फ्यान पनि दुःखी छन् ।
यस्तो छ आर्यनको जेल दैनिकी
भारतीय सञ्चार माध्यमहरुले जेलमा कैदीको रुपमा रहेका आर्यनको दैनिकी समेत सार्वजनिक गरेका छन् ।
समाचारहरुमा जनाए अनुसार, आर्यनले जेलको खाना खाइरहेका छैनन् । उनले जेलमा बसेको पहिलो दिनमात्र त्यहाँको चिया पिएका थिए ।
त्यसयता उनले जेलका कुनै पनि खानेकुरामा हातसम्म लगाएका छैनन् । आर्यन जेलमा कैदीहरुलाई दिइने खाना पनि खाँदैनन्, अन्य कैदीहरुलाई दिन्छन् र आफैं एक्लै टोलाउँदै बस्छन् ।
यी सम्पूर्ण कुराहरु चार दिनअघि उक्त जेलबाट मुक्त भएका कैदी श्रवण नडारले एउटा सञ्चार माध्यमलाई बताएका हुन् ।
श्रवण त्यही ब्यारेकमा थिए, जहाँ आर्यनलाई राखिएको छ । आर्यनको ब्यारेकमा खाना बाँड्ने काम श्रवणकै थियो ।
श्रवणका अनुसार आर्यन तथा उनका साथीहरुलाई एक हप्तासम्म क्यारेन्टिनमा राखेपछि एक नम्बर ब्यारेकमा ल्याइयो । अर्थात, चार सेलमा चार सय कैदीहरु छन् ।
सबै जना एक–अर्कासंग टाँसिएर सुत्नु पर्छ ।एउटा सेलमा चार वटा ट्वाइलेट छन् ।आर्यन भएको सेलमा पनि एक सय जना कैदी छन्, जसमा १० वटा पंखा झुण्ड्याइएको छ ।