खलंगा : लगातारको वर्षाले जुम्लाको तातोपानी गाउँपालिका– ४ हाँकुको नेत्रज्योती मावि बगरमा परिणत भएको छ । विद्यालयमा बन्दै गरेका भवन भत्काएको छ । एक पश्चिमको भवन बगाएको प्रधानाध्यापक जज्वल्या राज न्यौपाने बताए ।
उनका अनुसार, वर्षाका कारण विद्यालय डुवानमा परेपछि पठनपाठन प्रभावित भएको छ । अविरल वर्षापछि आएको बाढी पहिरोले विद्यालयलाई पुर्ण रुपमा क्षति पुर्याएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए ।
न्यौपानेले भने, ‘बाढीले विद्यालयको पश्चिमतिरको भवनमा, स्टोर गरेर राखिएको डेस्क, फर्निचर बन्दै गरेको भवन, अन्य भवन निर्माणमा ल्याइएका औजार लगायतको सामान गरेर एक करोड ६६ लाख ३५ हजार बराबरको क्षति भएको छ । ’ नेत्रज्योती मावि हाँकु एक नमुना विद्यालय थियो । त्यहाँ कक्षा एकदेखि १२ सम्म पढाइ हुँदै आएको छ ।
‘नेत्रज्योतीमा ६ सय ५५ जना विद्यालय अध्ययनरत छन’, प्रधानाध्यापक न्यौपानेले भने, ‘विद्यालय नै बगरमा परिणत भएको छ । यस कारणले पठनपाठन निकै प्रभावित भएको छ । महामारीपछि भर्खरै विद्यालय खुलेर पठनपाठन सरु भएको थियो । बाढीले विद्यालय ध्यवस्त बनाइदिएको छ ।’
अर्कोतिर जुम्लामा चिसो सुरु हुँदैछ । बाढीले विद्यालय भवन भत्काएपछि बाहिर भुइँमै पठनपाठन गर्ने अवस्था नभएको विद्यालयमा कार्यरत शिक्षकले बताए । तातोपानी–४ का स्थानीय बिष्णु परियारले भनिन्, ‘बगर बनेको विद्यालयको चौरमा चौरमा पढाउन सकिने अवस्था छैन । तत्काल विद्यालयका भवन पनि निर्माण हुने अवस्था छैन ।’
‘विद्यालय स्वरुप बाढीले लथालिङ्ग बनाइ दियो’ प्रधानाध्यापक न्यौपानेले, ‘विद्यालय भवन निर्माणका लागि सरोकारवालासँग आग्रह गरेका छौं ।’ बाढीले ध्वस्त बनाएको विद्यालयको अवस्था बुझ्न जिल्लाबाट सरोकारवालाको टोली पुगेको न्यौपानेले बताए ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइ ,सशस्त्र प्रहरी, नेपाली प्रहरी, नेपाली सेना, मानव अधिकार आयोग, जनप्रतिनिधिको टोली नेत्रज्योती मावि लगायत अन्य बाढी गएको ठाउँमा पुगेको थियो ।