म्याग्दी : प्रवासी नेपाली सङ्घ (मोना)को अन्तर्राष्ट्रिय कार्यसमितिको अध्यक्षमा अमर छन्त्याल चयन भएको छन् ।
बेनीमा बिहीबार राति सम्पन्न चौथो अधिवेशनबाट धवलागिरि गाउँपालिका–१ गुर्जामा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका छन्त्यालको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो । अध्यक्षका आकांक्षी नेदरल्याण्डका मिम पुर्जा र कतारका विक्रम कार्कीले उम्मेदवारी फिर्ता लिएपछि छन्त्याल निर्विरोध हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा निर्वाचित छन्त्याल यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्षमा डढीवल खड्का (जापान), उपाध्यक्षमा सूर्य भट्टचन (पोर्चुगल), जङ्गबहादुर पुन (युके), नन्द गर्बुजा (युएई), महिला उपाध्यक्षमा पूर्णिमा पाइजा आशा (हङकङ) र महासचिवमा हरि राम्जाली (अष्ट्रेलिया) चयन हुनुभएको निर्वाचन समितिका संयोजक सुवासकुमार श्रेष्ठले जानकारी दिए ।
सचिवमा सुनेश केसी (दक्षिण कोरीया), विष्णुप्रसाद बरुवाल (साउदी अरब), प्रवक्तामा हिक्मत श्रेष्ठ (अष्ट्रेलिया), कोषाध्यक्षमा महेन्द्र खड्का (जापान), सहकोषाध्यक्षमा भक्त रोका (युके), महिला संयोजकमा अनुषा थापा (स्पेन) चयन हुनुभएको निर्वाचन समितिका सदस्य राजेश शाक्यले बताए । मध्यपूर्व संयोजकमा साउदी अरबका तिलक पुन, अमेरिका संयोजकमा अमर भण्डारी, एसियामा दीपक कार्की संयोजक चयन भएको छन् ।
महिला उपसंयोजकमा विष्णु बानियाँ, मध्यपूर्व उपसंयोजकमा दीपक छन्त्याल, अमेरिका उपसंयोजकमा भीम रेग्मी र एसिया उपसंयोजकमा प्रेम पुन (जापान) चयन हुनुभएको छ । मोना कतारका प्रतिनिधि भने निर्वाचनमण्डलले मतदानबाट नेतृत्व चयन प्रक्रिया अघि बढाउन बेवास्ता गरेको र खाडी मुलुकलाई नेतृत्वबाट बञ्चित गराउन खोजिएको आरोप लगाउँदै महाधिवेशन हलबाट बाहिरिएका छन् ।
मोना कतारका प्रतिनिधि तिलु शर्माले मतदानबाट नेतृत्व चयन गर्ने प्रजातान्त्रिक व्यवस्थालाई लत्याएर खाडी मुलुकलाई हेप्ने व्यवहार भएकाले अध्यक्षका प्रत्यासी विक्रम कार्की र सचिवका उम्मेदवार रमेश पौडेलले उम्मेदवारी फिर्ता लिएर बाहिरिएको बताए । रोजगार, व्यापार, व्यवासाय, अध्ययनको सिलसिलामा विदेशिएका म्याग्देली आवद्ध मोनाको अधिवेशन मङ्गलबारदेखि बेनीमा सुरु भएको थियो ।
अठ्ठाइस देशमा विस्तार भएको मोनाका २६१ प्रतिनिधिले भौतिक र भर्चुअल माध्यमबाट महाधिवेशनमा सहभागिता जनाएका थिए । प्रवासी म्याग्देलीले मोनामार्फत विपद् व्यवस्थापन, महामारी नियन्त्रण, शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधारका क्षेत्रमा सहयोग तथा जलविद्युत् आयोजनामा निजी लगानी भित्र्याएका छन् । रासस