काठमाडौँ : पछिल्लो केही वर्षयता उत्कृष्ट कर्मचारीको खोजी गरेर उनीहरुलाई प्रोत्साहन गर्ने अभियान चलाइरहेको अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट यस वर्षका उत्कृष्ट कर्मचारी अर्थात इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको छ ।
ल्याबले लामो प्रक्रिया पार गरी यस वर्षका ५ जना आईकन् सार्वजनिक गरेको जनाएको छ । यस वर्षको उत्कृष्ट पाँच जना इन्टेग्रिटी आइकनमा प्रमुख जिल्ला अधिकारी, बिरामीको सेवामा खटिएका डाक्टर नर्स लगायत छन् ।
यसरी इन्टिग्रिटी आइकनमा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, डा. लोकबहादुर लोप्चन, नर्स शिला शर्मा, डा. सुमित्रा गौतम र कृषि प्राविधिक चन्द्रकान्त चौधरी रहेका छन् । अकाउन्टबिलिटी ल्याबले सार्वजनिक गरेका आइकनमा पब्लिक भोटका आधारमा एक जना विजेता बन्नेछ ।
सम्मानका लागि सेवाग्राहीले कर्मचारीलाई गरेको मनोनयन, अप्ठेरो परिस्थितिमा सहयोगी राष्ट्रसेवकलाई सेवाग्राहीले सम्मान गर्न कन्जुस्याई गर्दैनन् भन्ने उदाहरण स्वरुप ल्याबले इन्टेग्रिटी आइकन सार्वजनिक गरेको हो । जसले संस्था र रातदिन सेवाग्राहीको सेवामा खटिएका कर्मचारीलाई महामारीे परिस्थितिको पर्वाह नगरी अगाडी बढ्न प्रेरित गरेको छ ।
यस वर्षका उत्कृष्ट कर्मचारी अर्थात इन्टिग्रिटी आइकन बनेका पाँचै जनाको विस्तृत कार्यसम्पादन र उत्कृष्ट कर्मचारी बन्ने सफलताको रहस्य क्रमशः प्रकाशित गर्नेछौँ ।
(यसअघि प्रकाशित समाचारमा यस वर्षका इन्टिग्रिटी आइकन पाँच जना हुनुपर्नेमा अन्यथा भएकोमा माफीसहित सच्याएका छौँ - सम्पादक)